काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले `भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेकाे बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भ्रष्टाचार र बेथितिविरूद्द समर्थन जनाएका हुन् ।

हेर्नुस् विज्ञप्ति –

‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु । जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु ।

यहीँ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै, नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमण जस्ता जघन्य अपराधको म घोर भत्र्सना गर्दछु ।

आन्दोलन पश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक छ । यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता हो। यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वास व्यक्त गर्दछु ।

जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा मेरो दृढ विश्वास छ । करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गर्दछु ।

संवैधानिक समाधानका लागि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको पहल सराहनीय छ । यस पहलमा सबैको साथ र समर्थन रहनेमा विश्वास व्यक्त गर्दछु ।

जय नेपाल !

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर