कबिर शर्मा । जेन जी पुस्ताले गहिरो रुपमा जरा गाडेर बसेको र नियन्त्रण बाहिर झागिंएको भ्रष्टाचार र वेतिथिविरुद्ध गरेको प्रर्दशनमा मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै घाइते सबै भाइबहिनीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
जेन जी पुस्ताको आक्रोस र जोशलाई मध्यनजर गर्दै संयमितता अपनाउनुपर्नेमा सरकारले अत्यधिक बल प्रयोग गरी निहस्था नागरिकलाई गोली हान्नु दुखद र कायर कार्य हो र यसप्रति घोर भत्सर्ना गर्दछु। प्रर्दशनलाई नियन्त्रणमा लिनका लागि अन्य उपायहरु हुँदाहुदै सिधै गोली चलाउनु झनै दुखद कुरा हो ।
भ्रष्टाचार विरुद्धको यस अभियानमा म सधैँ साथमा रहेको स्पष्ट गर्न चाहान्छु । यो शान्तिपूर्ण विद्रोहलाई कसैको बहकाउमा नलागि शान्ति र संयमतापूर्वक अघि बढाउन र उत्तेजना नफैलाउन हार्दिक अनुरोध गर्दछु । घुसपेठ र आरजकतामा सचेत रहन सबैलाइ आग्रह गर्दछु । भ्रष्टाचारलाई स्विकार्नु र परै जाओस्, त्यसबारे सोच्नेसम्म पनि कसैले नपरोस् भन्ने मुल मन्त्रलाई आत्मसात गरी म राजनीतिमा जोडिएको हुँ र त्यसमा म आज पनि चट्टान नै दृढ र अडिग छु । हाम्रो समाज र युवा पुस्ता लोभीपापी छैन, इमान्दारीका साथ बाँच्न सक्छ, आफ्नै मेहनतबाट कमाएको थोरै कुरामा पनि सन्तुष्ट बन्न सक्छ, सरल जिवनमा नै खुसी भेट्न सक्छ भन्ने बलियो विश्वास जगाएको छ । भ्रष्ट सोच, गतिविधि बोकेका व्यक्तिहरुबाट आफु, परिवार र समाजलाई टाढा राख्ने साहसको विकास भएको अनुभूति भएको छ। आम नागरिकले गरेको, चाहेको र सोचेको राजनीति यही नै हो ।
अब टालिएका आँखाका पर्दा हट्नेछन्, मरेका मनहरुमा नँया आशा र भरोसाका अंकुरहरु पलाउनेछन् । जसरी ढुंगाको कपा फोरेर पनि पिपल उम्रिन्छ त्यसैगरी नँया पुस्ताको चेतनशिलता र जिम्मेवारीबोधले राष्ट्रको पूर्नजागरण हुनेछ ।
इमान्दार, उज्यालो, सुसंस्कृत र समृद्ध नेपालको आशाको दियो बाल्ने आत्मविश्वास लोकतनत्रमा संधै रहिरहनेछ ।
जय नेपाल !
( शर्मा कांग्रेस काठमाडौं २ का क्षेत्रीय सभापति हुन् )



