काठमाडौं । नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९औं स्वतन्त्र दिवस मनाएको छ । पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैंचामा विशेष साँस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालकातर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । ‘नेपाल र भारत सम्बन्ध विशेष प्रकारको छ । खुला सिमाना र रोटीबेटीको सम्बन्ध मात्र होइन धार्मिक,साँँस्कृतिकसहित राजनीतिक सम्बन्ध पनि छ ,’ उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले भारत स्वतन्त्रताको आन्दोलनसँग नेपालमा प्रजातन्त्र स्थापनाको सम्बन्ध जोडिएको चर्चा गदै नेपाल भारत सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिनुभयो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत विक्रि गरेर आर्थीक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा भारतबाट आएको कलाकारहरुको समूहले कथक नृत्य प्रस्तुत गरेको थियो ।



