काठमाडाैँ । विसं २०४६ चैत २६ गते अर्थात आजको दिन मुलुकमा शान्तिपूर्ण जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःबहाली भएको ऐतिहासिक दिन हो । तीस वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था ढालेको जनआन्दोलनलाई नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुले आजको दिनलाई विशेष स्मरण गर्दै आएका छन् ।

आजकै दिन सम्झौता भएर बहुदलीय व्यवस्था पुनस्थापना भए पनि माओवादी, र अन्य केही वामपन्थी शक्तिहरुले चैत्र २४ लाई जनआन्दोलन दिवस मनाउदै आएका छन् । चैत्र २४ मा राजा महेन्द्रको शालिक ढाल्न खोज्दा प्रहरीले गोली चलाउदा आन्दोलनकारीको मृत्यु भएको थियो ।

४६ सालको जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंह थिए । उनले यो अन्तिम क्रान्ति भएको चाक्सीबारी भेलामा भनेका थिए । तर त्यो क्रान्ति अन्तिम भएन । ५२ सालमा माओवादीले जनयुद्ध थाल्यो भने ६२ ६३ सालमा ऐतिहासिक जनआन्दोलनमार्फत रानतन्त्रको अन्यत्य भयो ।

तर कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यसवर्ष जनआन्दोलन दिवसमा कुनै कार्यक्रम आयोजना गरिएन । विसं २०४६ मा राजनीतिक दलहरुको संयुक्त आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्था घोषणा गर्नुभएको थियो । आन्दोलनको नेतृत्व काँग्रेस संस्थापक नेता गणेशमान सिंहको अगुवाइमा भएको थियो ।

जहानियाँ राणा शासन र पञ्चायती व्यवस्था ढाल्न नेतृत्वदायी भूमिका खेलेपछि राजनीतिक दलहरुले गणेशमानलाई सर्वोच्च कमाण्डर भन्न थाले । गणेशमानका छोरा एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्ना बुबा र प्रजातन्त्र पुनःस्थापना भएको दिनको स्मरण गर्दै आजको दिनलाई ऐतिहासिक भन्नुभएको छ । उहाँले आज एक सन्देशमार्फत २०४६ सालमा आजकै दिन जनआन्दोलनबाट तानाशाही पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था पुनःस्थापना भएको उल्लेख गर्नुभएको छ ।

“आज नेपाली जनताको जित भएको ऐतिहासिक दिन हो, यस विशेष दिनको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, साथै प्रजातन्त्र प्राप्तिको जनआन्दोलनमा आफ्नो ज्यान बलिदान गर्नु हुने ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, नेता सिंहले सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले यसअघि विभिन्न कालखण्डमा सडकमा मानवसागर ओरालेर राजनीतिक लडाइँ जिते पनि अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणलाई परास्त गर्न घरमै बस्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेता सिंहले भन्नुभएको छ, “कोरोना भाइरसको सङ्क्रमणलाई हामी सबै मिलेर परास्त गर्नुपर्ने चुनौती छ, सुरक्षित रुपमा घरमै बसेर कोरोना भाइरसविरुद्ध लडौँं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं, समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटौं ।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको