सिरहा । पानी ट्यांकी छ । घर घरमा धारा छन्। तर खानेपानी छैन। खानेपानीको अभावमा २० घर दलित परिवारसहित झण्डै ८० घरधुरी काकाकुल छन्। यो अवस्था हो गोलबजार नगरपालिका वडा नं. १ भुल्के गाउँको।

२०७९ सालमा पुराना मेयर देवनाथ साहलाई प्रतिस्थापन गर्दै मेयर श्यामकुमार श्रेष्ठले गोलबजार नगरपालिकाको कुर्सी सम्हालेपछि भुल्केका जनताको मन रसाएको थियो। अब चाँडै शुद्ध खानेपानीले घाँटी भिजाउला भन्ने आशमा बसेका भुल्केबासी जनता त्यतिबेला झन् उत्साही भए जब नगरपालिकाले पानी ट्यांकी निर्माण र बोरिङ्ग जडान सुरु गरायो। ‘एक घर,एक धारा’को निर्माण कार्य पनि सुरु भयो।

आर्थिक वर्ष २०७९÷०८० मै गोलबजार नगरपालिका १ भुल्के गाउँमा ४० लाख रकम खर्चेर बोरिङ्ग जडान, पानी ट्यांकी निर्माण र करिब ८० वटा धारा जडान कार्य सम्पन्न भयो । स्थानीय जनतालाई भनियो–‘अब एक दुई महिनामा थ्री फेज विजुली ल्याएर समरसेवल मोटर चलाएर पानी वितरण गर्ने।’

आशै आशमा बसेका जनताले अढाई वर्ष समय व्यथित गरे । तर धारामा पानी आएन । धारामा पानी झर्ला र गाग्री भरी थापौँला भन्ने आशमा रहेकी ६० वर्षिया विन्दी विक भन्छिन्,‘अब यो जन्ममा हुँदैन होला। धाराको पानी नखाई मरिन्छ होला।’

गाउँ घुमेर हेर्दा ८० वटा धारामा खिया लागेको छ। कतै धाराहरु बोराले छोपेर राखिएको छ । कतै टुटफुट भएको छ। पानी ट्यांकी ठिङ्ग उभिएको छ । ७५ वर्षका कमान सिंह भन्छन्,‘खोई के विकास आयो आयो । हेरेर चित्त बुझाउनु परेको छ । बोरिङ्ग चलाउँदा त लतत्त हिलो पो आयो । पानी आएन । तीन वर्ष भयो पानी कुरेको अझै झरेको छैन।’

खानेपानी उपभोक्ता समितिका अध्यक्ष फूलमाया विक भन्छिन्,‘आर्थिक वर्ष २०७९÷०८० मा मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले खानेपानी ट्यांकी निर्माण र बोरिङ्ग जडान कार्य गराएका थिए। नामको लागि उपभोक्ता समिति निर्माण गरेर मेयर पुत्रले यो आयोजना आफ्नो हातमा लिएका थिए। उतिबेलै बोरिङ्ग जडान असफल भएको थियो तर सफल भनेर भुक्तानी निकालियो । खानेपानी आयोजना भने अझैसम्म अलपत्र छ।’

खानेपानीको हाहाकार भोगिरहेका भुल्केका जनताले विगत अढाई वर्षमा दर्जनौ पटक मेयर श्रेष्ठलाई भेटेर नयाँ बोरिङ्ग जडान गरी खानेपानी आयोजना सञ्चालनमा ल्याउन घच्घच्याए। स्थानीय महेन्द्र यादव भन्छन्,‘मेयर श्रेष्ठलाई भेट्न जाँदा उनले अहिले तुरुन्तै दुई मिनेटमा काम सुरु गराइहाल्छु झैं गर्छन् । अनेक तडकभडक देखाउँछन् । हाकिमलाई इन्जिनियरलाई फोन गर्छन्। तर हामी फर्केपछि जस्ताको त्यस्तै ।’

वडा नं. १ का नेपाली कांग्रेसका नेता शरदराजा शाही भन्छन्,‘२१ सौं शताब्दी अर्थात प्रविधिको युग। बजारमा पतालको पानी तानेर पहाडमाथि चढाइदिने समरसेवल मोटर उपलब्ध छ। गाउँमा विजुली पनि पुगेको छ। बोरिङ्ग जडान गर्ने ठूला मेसिनहरु पनि बग्रेल्ती उपलब्ध छन्। शासन सत्ता इमान्दार हुने हो भने अब कुनै गाउँमा खानेपानीको हाहाकारको अवस्था रहँदैन। तर गोलबजार नगरपालिकाका शासकको पहिलो अभिष्ट विकास होइन। प्रथम प्राथमिकता कमिशनखोरी हो। त्यसकारण यो अवस्था आइलागेको हो। घर घरमा धारा छ तर खानेपानी छैन्।’

नेकपा एकीकृत समाजवादीका नेता भेषराज ठकुरी भन्छन्,‘गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँका जनताको लागि खानेपानी अझै सास्तीको विषय बनेको छ। कति पीडादायी छ यो अवस्था ? कल्पना गर्नुहोस् त ! घर अगाडि धारा छ। गाउँको सिरानमा पानी ट्यांकी छ । तर पानी छैन । तीन बर्षदेखि यो विजोग र सन्ताप हेर्दै बस्दै गरेका छौं । मेयर श्याम कुमार श्रेष्ठलाई भोट दिएर जिताएको नतिजा भोग्दैछन् जनताले।’

नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंह भन्छन्,‘दुर्योधन जस्ता चरित्रका पुत्रको वशिकरणमा परेका धृतराष्ट्र पिताको कमिशन मोहको परिणाम हो भुल्केको खानेपानी योजना। त्यतिबेला नै बोरिङ्ग असफल भएको थाहा भएकै हो। तर भुक्तानी निकाल्न बोरिङ्ग सफल भएको नौटंकी गरियो। पुत्रको व्यापार चलाउन भुल्केका जनताको कण्ठ सुकाइयो ।’

भुल्केका स्थानीय महेन्द्र यादव भन्छन्,‘हामीले पटक पटक भन्यौ। यता उताको कुरा नगर, जवाफ देउ किन धारामा पानी आएन ?’ तर अढाई वर्षदेखि गोलबजार नगरपालिका धाउँदा धाउँदा हाम्रो पिडुला फतक्कै गल्यो। अहिले पुसमा फेरि नयाँ बोरिङ्ग जडान गर्न मेसिन त पठाइयो तर बोरिङ्ग सफल हुन सकेन। अर्को ठाउँमा बोर गर्दैछन्। के हुन्छ ? थाहा छैन।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको