पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको संसद् बैठक बहिष्कार गर्ने भएको छ।

कांग्रेस संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सांसद डिल्ली सुवेदीले जानकारी दिए।

प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैरसंवैधानिक काम गरेकाले असंवैधानिक हिसाबले बोलाइएको बैठकमा सहभागी नहुने निर्णयमा कांग्रेस पुगेकाे सुवेदीले बताए। दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘सभामुख ज्युले पनि बैठक सञ्चालन गर्न भएन।’

कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ। अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु दुवै गैरजिम्मेवार काम भएको कांग्रेसको जिकिर छ। कांग्रेसले मुद्दाको किनारा नलाग्दासम्म कुनै पनि बैठकमा सहभागी नहुने निर्णय सभामुखलाई जानकारी गराएकाे छ।

‘असंवैधानिक क्रियाकलापहरूप्रति गम्भीर असहमति जनाउँदै प्रदेशसभा बैठक र अन्य कुनै पनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

बैठक सञ्चालन नगर्न सभामुखलाई कांग्रेसले आग्रह पनि गरेको छ। ‘विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशसभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीतसमेत हुने भएकाले प्रदेश सभा बैठक सञ्चालन नगर्न/नगराउन अनुरोध गर्दछौँ,’ कांग्रेसले भनेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको