काठमाडौँ, ४ कात्तिक । विधायकले कानुन बनाउने जिम्मेवारी भए पनि नेपालको संसदीय अभ्यासमा कानुन बनाउने र जनताको दुःख, सुखमा साथै रहने कुरालाई बिर्सने सक्ने अवस्था छैन।
राजनीतिक दलले निर्वाचनमा भाग लिनुअघि आ-आफ्नो घोषणापत्र सार्वजनिक गरी विकास निर्माणका योजना नै स्पष्ट देखाउने परिपाटी बसल्न आवश्यक रहेको सांसद ईश्वरबहादुर रिजालको बुझाइ छ।
‘चुनावमा भोट माग्न जाने बेलामा विकास निर्माणका प्रष्ट खाका देखाउनुपर्छ’, उनले भने, ‘विकास हुँदै गरेको हाम्रोजस्तो देशमा कानुनमात्र बनाउँछु, विकास निर्माणका बारेमा वास्ता छैन भन्न मिल्ने अवस्था छैन।’
विसं २०२४ चैत १७ गते दोलखा विगु गाउँपालिका चिलङ्खा, मोहीबासमा जन्मिएका उनी २०३९ सालदेखि नेकपा एमाले निकट भातृ संगठनमा क्रियाशील भएर राजनीतिक यात्रा प्रारम्भ गरेका थिए।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) हुँदै सांसद रिजाल एमाले केन्द्रीय सदस्य र अहिले पोलिटब्यूरो सदस्य छन्। उनले अहिले पार्टीको स्कुल विभागको उपप्रमुख भएर काम गरिरहेका छन्। दोलखाबाट समानुपातिक प्रतिनिधिसभा सदस्य भएर जिम्मेवारी निर्वाह गरिरहेका छन्।
पार्टीले आफ्नो घोषणापत्रमा प्रतिबद्धता गरेको र जुन चुनावपछि पूरा गर्नुपर्ने अवस्था भएको उनको भनाइ छ। ‘पार्टीको घोषणापत्रमा दिएको वचन त पूरा गर्नुपर्यो’, एमालेको पोलिटब्यूरो सदस्य रिजालले भने, ‘जनतालाई विकास चाहिएको छ, त्यो गर्छु भनेर नै भोट मागिएको हुन्छ।’
चुनावमा उठ्ने बेलामै पार्टीले जनप्रतिनिधिको काम कानुन बनाउनेमात्रै हो भनेर लेखेमात्रै नत्र कानुन बनाउनुका साथै जनताको दुःख, सुखमा साथै रहनुपर्ने उनको राजनीतिक गर्दाको अनुभव छ। ‘जनप्रतिनिधि भनेकै मतदाताको हो, मतदातासँगै सकेसम्म रहनुपर्छ’, सांसद रिजालले भने, ‘जनताको इच्छा र चाहनालाई जनप्रतिनिधिले बेवास्ता गर्न पटक्कै मिल्दैन।’
कानुन बनाउने र नीति निर्माण गर्ने दुवै विषयमा उत्तिकै ध्यान दिनुपर्ने उनको बुझाइ छ। ‘जसले निर्वाचित गरेर पठाएको छ, उसकै लागि काम गर्नुपर्ने जनप्रतिनिधिको धर्म हो’, उनले भने, ‘जुन खालको संसदीय अभ्यास छ, यो अभ्यासमा कानुन बनाउन र जनताको ध्यान दिनु दुवै जिम्मेवारी छ।’
सदन प्रारम्भ भएपछि कानुन निर्माणमा ढिलाइ भएको कुरालाई स्वीकार गर्दै सांसद रिजालले भने, ‘संविधानअनुकूलका महत्त्वपूर्ण कानुन बनाउन जरुरी छ, तर सरकारले सदनलाई बिजनेस दिनुपर्यो। कानुन छिटो नबन्नुको दोषी संसद् र सांसद नभएर सरकार पनि हो।’
सरकारले कानुन बनाउनुपर्ने विषयमा अध्ययन गरेर विधेयक ल्याउनुपर्नेमा ल्याउन नसकेको हुनाले सदनले आवश्यकताअनुरूप कानुन बनाउन नसकेको उनको ठहर छ।
‘सरकारले संसद्लाई बिजनेस नदिएपछि संसद् र सांसदले मात्र कानुन बनाउने कुरा भएन’, उनले भने, ‘सरकारले बनाउनुपर्ने अतिआवश्यक कानुनका बारेमा गैरसरकारी विधेयक ल्याएर पनि भएन।’
संसदमा कहिलेकाहीं सरकारले गरेको कामका बारेमा प्रश्न उठ्दा केही चर्काचर्की हुने गरे पनि सभ्य तरिकाले प्रश्न उठ्ने गरेको उनको बुझाइ छ। ‘सरकारले जनताको अतिआवश्यक चाहनामा बेखबर हुन मिल्दैन, अहिले महँगी बढेर आठ प्रतिशतभन्दा बढी भएको छ’, सांसद रिजालले भने, ‘दसैंको बेलामा सरकारले अनुगमन गर्छ, अरू बेला पनि अनुगमन गर्नुपर्यो।’
सरकारका कमी(-कमजोरीलाई प्रमुख प्रतिपक्ष दलले ध्यानाकर्षण गराउनुपर्ने संसदीय अभ्यास नै भएको र हुँदा कहिलेकाहीं तिखो स्वर भए पनि संसदभित्र संसदीय व्यवस्थालाई असर पर्ने गरी काम नगरेको उनको भनाइ छ।
‘जनताको प्रतिनिधिले सभ्य र शिष्ट भाषा बोल्नुपर्छ, तर संसदीय अभ्यासमा कहिलेकाहीं आवेगमा आएर मुखबाट त्यस्ता शब्द आउन सक्छ। जनताको समस्याका बारेमा कुरा गर्दा उत्तेजित भएको अवस्था हुन्छ’, सांसद रिजालले भने, ‘शून्य समय वा विशेष समयमा राखेका कुराको सुनुवाइ भएन भने पनि चर्कै स्वरले बोल्नुपर्ने हुन्छ। तर पछि महसुस हुन्छ, सच्याउने पनि गरिन्छ, त्यसलाई अनौठो मान्नु पनि हुँदैन।’
संसद् भनेको देश र जनताका प्रत्यक्ष सरोकारका विषयमा छलफल र बहस हुनु स्वाभाविक प्रक्रिया भएको उनको बुझाइ छ। रासस




