काठमाडौं : नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले काेशी प्रदेशमा एमालेकाे सम्थनमा कांग्रेस सांसदकाे मुख्यमन्त्रीमा दाबेदारीलाई दुर्भाग्यपूर्ण भनेका छन् । बिहिबार सत्तागठबन्धनले माओवादी उम्मेदवार इन्द्र आङ्बाेलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाे थियाे । त्यसलगत्तै कांग्रेस नेता शेखर काेइराला पक्षका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । त्यसलगत्तै घिमिरेले स्टाटसमार्फत साे कार्य अनुचित भएकाे टिप्पणी गरेका हुन् ।
घिमिरेले स्टाटसमा यस्ताे लेखेका छन्-
कोशी प्रदेशको सरकार गठनको प्रक्रियाले मेरो ध्यान आकृष्ट भएको छ।त्यसो त लगभग दुईबर्षदेखि यस प्रदेशको कांग्रेस राजनीतिमा मेरो भूमिका पर्यवेक्षक सरहको मात्रै छ।यस बिषयमा केन्द्र र प्रदेश कार्यसमिति दुवैको रुचि र मिलोमतो छ,र सबै नेताहरुबिच एकमत छ।
दुनियाँमा दलिय राजनीतिमा निर्दलिय अभ्यास सर्वथा बर्जित छ भन्ने हामीलाई थाहा छ।संविधानको सुविधाको उपयोगको अर्थ दलको दायराको कदापि पनि उल्लंघन होइन र दलको व्यक्तिले यसको दुरुपयोग गर्न सोच्नु पनि हुदैन।दलका नेताको जिम्मेदारी र जवाफदेहिता दलप्रति नैं हुनुपर्छ।यो नैं दलका सदस्यको दलकाप्रतिको अटल निष्ठा हो।
सत्ता, राजनीतिक यात्राक्रमको सुन्दर देउराली र मोड हो,तर अन्तिम गन्तव्य होइन। बीपीले सत्तालाई कहिल्यै पनि राजनीतिको साध्य मान्नु भएन भन्ने हामीलाई हेक्का छ कि छैन ?। सरकार गठनको क्रममा समाचारमा जे सुनिएको छ,दुर्भाग्यपूर्ण छ,निष्ठाको परिक्षण हुने नैं छ।



