काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले लोकप्रियताका आडमा आएका नयाँ पार्टीहरूबाट पनि मुलुक नबन्ने बताएका छन् । आज एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको कार्यक्रममा बोल्दै उनले नयाँ पार्टीहरुले राजनीतिलाई अत्यन्त सस्तो कुरा ठानेको बताए । त्यसैले आफुले ती पार्टीहरुलाई एमाले अध्यक्ष केपी ओलीका मानसपुत्र भन्ने गरेको बताए ।

‘तिनका कुरा सुन्नुस्, भाषा हेर्नुस्, हाउभाउ हेर्नुस् । राजनीति केही पनि होइन चुट्कीका भरमा गरिने चिज हो भनेर उनीहरुले जसरी सोच्दैछन् त्यसैले मैले यिनीहरुलाई ओलीजीका मानसपुत्र भन्ने गरेको छु। यो फन्टुस नयाँ जेनेरेशन आउँदैछ,’ भूसालले भने।

उनले अध्यक्ष केपी ओलीका कारण एमाले झन् संकटग्रस्त बन्दै गएको पनि टिप्पणी गरे । ‘जति संकटग्रस्त बन्छ पार्टीका रुपमा, त्यो संकट टार्नका लागि त्यसभित्र अझ बढी ओलीको भक्ति चाहिन्छ’, भूसालले भने, ‘जति बढी भक्ति आउँछ, त्यति बढी संकट आउँछ, जति बढी संकट आउँछ, त्यो संकटलाई टार्न अझ ओलीको पूजा गर्ने, ओलीवादी हुने एमालेको प्रवृत्ति हो। यो प्रवृत्तिबाट किमार्थ एमाले निस्कन सक्दैन।’

उनले कांग्रेसबाट पनि मुलुक नबन्ने बताए। कांग्रेसको सिद्धान्तले संविधान कार्यान्वयन गर्न नदिने उनको तर्क छ। लोकतान्त्रिक मूल्यहरूका मुद्दासम्म कांग्रेस ठीक भए पनि ऊ त्यसभन्दा अगाडि जान नचाहने उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको