सुदूरपश्चिम, ४ भदौ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छन् ।
  आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा राणाले भनिन, “जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ । तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ ।”
उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिइन । उनले भभनिन, “म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ ।”
नेत्री डा राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिइन । अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताइन ।
कार्यक्रममा डा राणालाई विकासका कामका लागि उहाँले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो ।
उक्त भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यत्रय सुशीला मिश्र भट्ट, नृपबहादुर ओड र डा जीवन रानाथारु, प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कमलबहादुर शाहलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए ।
भेलामा नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट पहिलो विद्यावारिधि प्राप्त गर्नुहुने कांग्रेसका केन्द्रीय सदस्य डा जीवन रानाथारुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको