यौन मनोविज्ञान र यौन समस्या समेटिएको पुस्तक ‘यौनका कुरा’ सार्वजनिक गरिएको छ । यस पुस्तक ‘यौनका कुरा’का लेखक डा सुबोधकुमार पोखरेलले यौन जीवन र यौन रोगबारे सबैले शिक्षा लिनुपर्ने बताएका छन्। नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीको संस्थापक अध्यक्ष समेत रहेका पोखरेलले आफ्नो पछिल्लो पुस्तक यौनका कुरा मार्फत यौन मनोविज्ञान र यौन समस्या तथा तीनको समाधानबारे उल्लेख गर्दै यौन शिक्षा प्रदान गरेको बताए।
‘यौन स्वास्थ्य, यौन समस्याबारेमा आम दर्शक स्रोतासंग प्रत्यक्ष रुपमा जिज्ञासा लिने र समाधान गर्ने कार्यक्रम त्यसबेला सुपरहिट भएको थियो,’ डेढ दशक अघिका ती दिन सम्झँदै डा.पोखरेलले अगाडी थपे, ‘विसं २०७० को संविधान सभा निर्वाचनमा सभासद भएर संसद छिरेपछि थाहा भयो मलाई नचिनेको र नदेखेको त कुनै नेता नै हुनुहुँदो रहेनछ । सबैले एक्लै भेट हुँदा भन्नुहुन्थ्यो, तपाईँको रातपरेपछि कार्यक्रम निकै राम्रो छ ।’
उनका अनुसार यौनरोग मानसिक समस्याको रुपमा मात्र बुझ्ने गरिएको भन्दै यौनरोग शारीरिक समस्या पनि भएको र यसबारे बुझ्न पुस्तक उपयाेगि छ ।
पुस्तकलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकको पहिलो खण्डमा यौन मनोविज्ञान र दोस्रो खण्डमा यौनसमस्या र तिनको समाधानमा केन्द्रित सामग्रीहरू समावेश गरिएका छन् । यौन समस्याको समाधानका क्षेत्रमा विगत झन्डै तीन दशकदेखिको आफ्नो अनुभव, अध्ययनका क्रममा पढेका पुस्तक तथा व्यवहारिक पक्षलाई समेटेर पुस्तक लेखिएको डा पोखरेलले बताए ।
भुँडीपुराण प्रकाशनका केशव पुडासैनीले स्वास्थ्य क्षेत्रका पुस्तक प्रकाशन गर्न पाउँदा गौरवान्तित भएको बताए ।