काठमाडौं :नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस पार्टी भनेको केन्द्रिय समितिमा रहेकाहरुको मात्र नभएको बताएका छन् । कांग्रेसको ५ दिन चलेको केन्द्रीय समिति बैठकमा संस्थापनपक्षका केही केन्द्रीय  सदस्यहरुले रुपान्तरण अयिभानको आलोचना गरेका थिए । त्यसको जवाफमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा घिमिरेले जवाफ फर्काएका हुन् ।

‘कांग्रेस पार्टीका सबै सदस्यको साझा मामिला हो । कांग्रेस भनेको केन्द्रीय समितिको घेरामात्र होइन, उनले भने, ‘पार्टीको निर्णयमा पार्टीका साथीहरुको कुरालाई प्रतिविम्वित गरेर निर्णय गर्नुस् । निर्णय आएपछि हाम्रो धारणा सार्वजनिक गरौंला ।’ उनले महिनौं जिल्ला जिल्ला पुगेर कांग्रेस रुपान्तरणको कारण, आवश्यक्ता र औचित्यबारे सूत्रबद्ध गरेर ल्याएको र त्यो सुझाव पार्टी निर्णयमा समबोधन हुन्छ हुादैन निर्णयको पर्खाइमा रहेको बताए ।
त्यस्तै, उनले आफूहरु नेपाली कांग्रेस हो की होइन भन्दै प्रश्न पनि गरे । ‘हामी नेपाली कांग्रेस हौं कि होइनौं । हामी शेखर कोइरालामार्फत सभापति देउवालाई सोध्छौं ,’ उनले भने ।

घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरे । ‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति गम्भीरता मैले देखिनँ । केन्द्रीय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला । मलाई भारदारी सभाजस्तो लाग्यो । महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो ।‘ तर जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ’, उनले भने ।

नेता घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम नलिई उनी आफ्नै कर्मका कारण दुःखमा परेको भन्दै केन्द्रीय सदस्यले दुःख र कर्म पनि छुट्याउन नसकेको बताए ।‘ ‘केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउनुभएन । दुःख पर्‍यो भनिदिनुभयो । कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको