काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन प्रणालीमा सुधार गनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टी केन्द्रीय समिति बैठकमा पौडेलले राष्ट्रियसभा ३५ सदस्यीय र प्रतिनिधिसभामा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै पौडेलले निर्वाचनमा उम्मेदवारका लागि ‘प्राइमरी इलेक्सन’को व्यवस्था गरेर टिकट वितरणको व्यवस्था गर्न माग गरेका छन् । उनले चारपटकभन्दा बढी संघीय सांसद बनाउन नहुने, प्रदेशमा दुईपटक सांसद बन्ने र समानुपातिकमा एकपटक मात्रै अवसर दिनुपर्ने बताए । पौडेलले कार्यसम्पादन समितिको निर्णयलाई दुई महिनाभित्र अनुमोदन नभए स्वतः अस्वीकृत हुने व्यवस्था गर्नुपर्ने बताए । उनले कांग्रेस अब द्विविधामा बाँच्न नहुने पनि बताए ।
उनले सरकारले भ्रष्टाचारको छानबिन गरिरहँदा समर्थन पनि गर्न नसक्ने र विरोधमा पनि उत्रिन नसक्ने द्विविधा रहेको उल्लेख गरे । उनले भने, ‘कांग्रेस भ्रष्टाचारविरुद्ध कठोर हुनैपर्छ। यो भावनाको विषय होइन नैतिक प्रश्न पनि हो । अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छ।’