काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीको न्युनतम पारिश्रमिक २५ हजार कायम हुनुपर्ने माग गरेको छ। काठमाडौंमा सम्पन्न युनियनको सातौं महाधिवेशनले नयाँ पारिश्रमिक निर्धारण हुनुपर्ने निर्णय गरेको महासचिव अजयकुमार राईले जानकारी दिएका छन्।
सरकारले कार्यालय सहयोगीलाई मासिक २६ हजार रुपैयाँ तोकेको स्मरण गराउँदै युनियनले मूल्य वृद्धि र महँगीमा श्रमिकलाई १५-१६ हजारमै सीमित राखिएको जनाएको छ।
‘रोजगारदाता श्रमजीवीको न्युनतम पारिश्रमिकमा गम्भीर देखिँदैन। सरकार आफैं कानुन विपरित देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी विभेद् गरिरहेको छ,’ ट्रेड युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मूल्य वृद्धिको दाँजोमा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन सकिन्छ?’
आकासिदो महँगीको वर्तमान अवस्थामा चिया बगानलगायत सबै क्षेत्रका श्रमिकको एकरुपता कायम गरी न्युनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण नभए श्रमजीवीहरूको हकहित र अधिकारका लागि नेपाल ट्रेड युनियन कांग्रेस कडाभन्दा कडा कदम चाल्ने चेतावनी दिएको छ।