काठमाडौं : युवा संस्था सञ्जाल आयोन र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सेल परियोजनाले देशैभर युवा उद्यमशिलता सप्ताह मनाएको छ । युवा उद्यमशिलता प्रवद्र्धनका लागि युवा उद्यमशिलता सप्ताह मनाउन शुरु गरिएको छ । युवा संस्थाहरुको छाता संगठन आयोनले यो सातालाई उद्यमशिलता प्रवद्र्धन सप्ताहका रुपमा मनाएको हो ।
उद्यमशिता प्रवद्र्धनका लागि शैक्षिक संस्थासँगको सहकार्यमा उद्यमशिलता शिक्षाबारे केन्द्रित कार्यक्रम गरियो । नेपालको शिक्षा प्रणालीले जागिरे मानसिकताको विकास गरेको र उद्यमशिलता विकास हुन नसकेको भन्दै आलोचना भइरहँदा शिक्षमै उद्यमशिता प्रवद्र्धन गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । यो क्रममा काठमाडौंका दर्जन बढी क्याम्पसहरुमा कार्यक्रम हुँदा सयौं विद्यार्थी कार्यक्रममा जोडिएका छन् । यो कार्यक्रम अन्तर्गत उद्यमशिताको विकासका लागि शैक्षिक संस्थाहरुमा उद्यमशिल युवा क्लव गठन गरिएको छ ।
काठमाडौं बाहिर सुर्खेत, नेपालगञ्ज, पोखरा, हेटौडा,चितवन, ललितपुर,भक्तपुरमा उद्यमशिलता प्रवद्र्धन लक्षित कार्यक्रम सम्पन्न भयो । जिल्लाहरुमा स्थानीय तहसँगको सहकार्यमा विविध कार्यक्रम गरि यो दिवस मनाइएको आयोनले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशिलता प्रवर्द्धन वर्ष घोषणा गरेको छ । सरकारको सो घोषणालाई सफल बनाउन आयोन र सेल कार्यक्रमले उद्यमशिलता सप्ताह मनाएको हो ।