
काठमाडौं – नेपाल विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रेषित केही समाचारमा निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनियतामा प्रश्न उठठेको बताएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई सत्य तथ्य सूचनाक आधारमा समाचार सम्प्रषित गर्न र नागरिकलाई दिग्भ्रमित पार्ने काम नगर्न आग्रह गरेका हुन् ।
“लोकतन्त्रको गरिमा बढाउने दायित्व राजनीतिक दलको मात्रै होइन । राज्यको चौंथो अंगको रूपमा सम्मानित सञ्चारमाध्यमको भूमिका त अझ बढी हुने गर्छ । तर, पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रेषित निराधार र अपुष्ट सूचनाका आधारमा प्रेषित खबरले भने सञ्चारमाध्यमकै विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस नेतृ आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानबिनको लागि उहाँले दिनुभएको उजुरीमाथि छानबिन हुन नसक्नु दुःखद भएको भन्दे नेविसंघले तत्काल सो अडियोको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ ।