महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ । महिनावारी भएदेखि सुक्ने बेलासम्म यो हरेक महिना नियमित हुनुपर्छ । तर अहिले धेरै महिलामा महिनावारी गडबडीको समस्या देखिन थालेको छ ।

महिनावारीको सुरुवाती र सुक्ने वर्षमा महिनावारी गडबड हुन सक्छ । तर त्यसबेला बाहेक पनि महिनावारी छिटो वा ढिलो हुन्छ भने के कारणले यस्तो हुन सक्छ ? भनेर सचेत हुनुपर्छ ।

सामान्यतया महिनावारी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३५ दिन । २८ देखि ३५ दिनभित्र नियमित रूपमा महिनावारी भएमा त्यसलाई सामान्य मानिन्छ ।

धेरै दिनसम्म रगत बग्नुको कारण
महिनावारीको समयमा सात दिनसम्म रगत बग्नु सामान्य हो । यसभन्दा बढी पनि रगत बग्छ वा दैनिक ८० एमएल भन्दा बढी रगत बग्छ भने त्यो असामान्य हो । धेरै दिनसम्म बढी रगत बग्छ भने हार्मोनहरुको अनियमितताले हुन सक्छ । साथै पाठेघरको ट्युमर, पाठेघरमा संक्रमण, ‘मेनारकी’ पहिलो पटक भएको महिनावारी भएको र ‘मोनोपोज’ महिनावारी सुक्ने समयमा धेरै वा थोरै रगत बग्ने समस्या हुन सक्छ ।

महिनावारीमा एक दिन मात्र रगत बग्नु वा एकदमै थोरै रगत बग्नु पनि सामान्य होइन । एक दिन मात्र रगत बग्नु वा थोरै मात्र रगत बग्नु पनि महिनावारी गडबडी नै हो ।

थोरै रगत बग्नुको कारण
कसैको शरीरमा रगतको कमी नै भयो भने थोरै मात्रामा रगत बग्ने हुन्छ । पाठेघरको लेयर पातलो भयो भने पनि थोरै रगत बग्छ । कसैमा वंशाणुगत कारणले पनि यस्तो भइरहेको हुन्छ, आमालाई महिनावारीमा थारै रगत बग्थ्यो भने छोरीमा पनि त्यस्तो हुन सक्छ । कहिलेकाहीं पोषणयुक्त खानाको कमीले गर्दा पनि यस्तो समस्या हुन सक्छ ।

कतिपयलाई १५ दिनमै महिनावारी हुनुको कारण
महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी छिटो वा ढिलो हुने, गडबड हुने हुन्छ । हार्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, तनाव, पाठेघरसम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ । धेरै मोटोपन भएका महिलामा पनि महिनावारी अनियमित हुन सक्छ ।

महिनावारी चक्र नियमित राख्न के गर्ने ?
महिनावारी चक्र अनियमित हुने प्रमुख कारण तनाव हो । महिनावारी चक्र गडबडी हुने ९० प्रतिशत कारण तनाव हो । साथै खराब जीवनशैली र खानपानले पनि महिनावारी चक्र अनियमित भएको छ । त्यसैले महिनावारीलाई नियमित बनाउन तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने, पोषणयुक्त खाना खाने, नियमित व्यायाम गर्ने लगायत कुरामा ध्यान दिनुपर्छ

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको