काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गरेको करिब दुई महिनामै पुन दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोली सोमबार संसदबाट विश्वासको मत लिदै छन् ।

यसैक्रममा तत्कालिन गठबन्धनको प्रमुख दल नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएको अवस्थामा अब नयाँ १० दलीय गठबन्धनले सरकार बनाउने निश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्रसहित, नेपाली काँग्रेस, एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय नै गरिसकेका छन् । त्यस्तै गठबन्धनमा रहेका अन्य दलले पनि यस बारेमा निर्णय गर्नेक्रममा रहेका छन् ।

त्यस्तै गठबन्धनमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका ८९ सांसद छन् भने नेकपा एमालेका ७९ सांसद रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका ३२ सांसद रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद छन् भने राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १(१ सांसद छन् । त्यस्तै स्वतन्त्र सांसद ४ जना रहेका छन् ।

काँग्रेसले विश्वासको मत दिने र सरकारमा सहभागी हुने
संसदको ठुलो दल नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निरन्य गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दीने निर्णय गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो ।

एकीकृत समाजवादीले विश्वासको मत दिने
नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

यसरी सोमबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत सजिलै पाउने देखिएको छ । संसदको ठुलो दल काँग्रेससहितका १० दलले पनि विश्वासको मत दिने निर्णय शनिबार नै गरिसकेकाले सरकारले विश्वासको मत पाउने देखिएको हो । आइतबारको संसद बैठकमा काँग्रेस, एकीकृत समाजवादी सत्ता पक्षको बेन्चमा बसेकाले अब संसदको समीकरण बदलिएको स्पष्ट भएको छ ।

संसदमा अहिले १० दलको १४६ सिट रहेको छ भने यसमा रास्वपाका १९ मत थपिदा १६५ मत हुने हुनाले बहुमतका लागि आवश्यक १३८ को संख्या सजिलै पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको