काठमाडौँ : उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदै छ । एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीकाे साथ पाएका यादवलाई बलियाे उमेदवारका रूपमा हेरिएकाे छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र तय गरिएको छ ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ ।