काठमाडौँ । उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झाको उमेदवारी परेको छ । यादवको पक्षमा कांग्रेस,माओवादी, उकीकृत समाजवादीको समर्थन छ भने झाको पक्षमा लोसपा र नागरिक उन्मुक्ति पार्टी छन् ।
त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार बिहान बालुवाटारमा साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न प्रयास गर्ने बताएका छन् ।