नयाँ दिल्ली । भारतस्थित नेपाली नागरिकले भोग्दै आएका पहिचान, आधारकार्ड, रोजगारी, शिक्षा, स्वास्थ्य, श्रम सुरक्षा तथा कानुनी जटिलतासम्बन्धी समस्या समाधानका लागि नेपाली समाज भारतले भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डेसमक्ष १० बुँदे माग तथा सुझाव प्रस्तुत गरेको छ। नेपाली राजदूतावास, नयाँ दिल्लीलाई सम्बोधन गर्दै नेपाली समाज भारतका केन्द्रीय सह–संयोजक आर। बी। खड्काले २४ नोभेम्बर २०२६ मा प्रस्तुत गरेको ज्ञापनपत्रमा भारतमा रहेका नेपालीको हक–अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्रमा भारतमा बसोबास गर्ने नेपालीले आधारकार्ड बनाउन आवश्यक पर्ने १८२ दिनको बसोबास प्रमाण, स्थानीय ठेगाना तथा अन्य कागजात जुटाउन भोग्नुपरेका कठिनाइ समाधान गर्न भारतीय सरकारी निकायसँग पहल गर्न माग गरिएको छ। बैंक खाता खोल्न, सवारी चालक अनुमति पत्र लिन, विद्यालय तथा अस्पतालबाट सेवा प्राप्त गर्न सहज व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ। समाजका तर्फबाट नेपाली समाज भारतका केन्द्रीय सह–संयोजक आरबी खड्काले ज्ञापनपत्र बुझाएका हुन् ।

त्यस्तै, विभिन्न प्रशासनिक कागजात बनाउने क्रममा नेपाली नागरिकमाथि दोहोरो नागरिकताको आशंका गर्ने, अनावश्यक सोधपुछ गर्ने, पक्राउ गर्ने तथा कानुनी झन्झटमा पार्ने घटनाको समाधान खोज्न राजदूतावासमार्फत कानुनी परामर्श र कूटनीतिक संरक्षण उपलब्ध गराउन माग गरिएको छ।

नेपाली समाजले भारतमा अध्ययनरत विद्यार्थीका लागि भर्ना, शुल्क, छात्रवृत्ति तथा प्रमाणपत्रसम्बन्धी समस्या समाधान गर्न र स्वास्थ्य उपचारका लागि भारत आउने नेपाली बिरामीलाई सहज तथा सम्मानजनक सेवा उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ।

भारतका विभिन्न उद्योग, कलकारखाना, होटल, निर्माण क्षेत्र, घरेलु काम तथा कृषि क्षेत्रमा कार्यरत नेपाली श्रमिकले न्यून पारिश्रमिक, ज्याला भुक्तानीमा ढिलाइ, श्रम शोषण, दुर्व्यवहार र दुर्घटनापछि क्षतिपूर्ति नपाउने समस्या भोगिरहेको उल्लेख गर्दै उनीहरूको श्रम अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्न पहल गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा यात्रा तथा सीमा क्षेत्रमा नेपाली नागरिकले भोग्ने लुटपाट, ठगी, दुर्व्यवहार र अनावश्यक रोकतोक नियन्त्रण गर्न पनि आग्रह गरिएको छ। विशेषगरी महिला, बालबालिका, वृद्धवृद्धा तथा असहाय नागरिकको सुरक्षामा ध्यान दिन र मानव बेचबिखन तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय बढाउनुपर्ने माग गरिएको छ।

त्यसैगरी भारतमा व्यापार, व्यवसाय तथा स्वरोजगारमा संलग्न नेपाली व्यवसायीले व्यवसाय दर्ता, बैंकिङ, कर तथा स्थानीय प्रशासनसँग सम्बन्धित प्रक्रियामा भोग्ने समस्या समाधान गर्न सहजीकरण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। नेपालमा लगानी गर्ने भारतीय व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै दुई देशबीच व्यापार तथा उद्यमशीलताको वातावरण विस्तार गर्न पनि सुझाव दिइएको छ।

प्रवासी नेपाली नागरिकलाई नेपालको निर्वाचनमा मतदान गर्ने अधिकार व्यावहारिक रूपमा सुनिश्चित गर्न, विदेशमा सुरक्षित र सहज मतदानको व्यवस्था मिलाउन तथा राष्ट्रिय नीति निर्माणमा प्रवासी नेपालीको सहभागिता र प्रतिनिधित्व बढाउन पनि समाजले माग गरेको छ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षणका लागि राजदूतावासले भारतस्थित नेपाली संघसंस्थासँग सहकार्य गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

ज्ञापनपत्रको नवौँ बुँदामा नेपाल–भारतबीच व्यापार, पर्यटन, कृषि, उद्योग, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उल्लेख छ। सीमावर्ती क्षेत्रका नागरिक, साना तथा मझौला व्यवसायी र नेपाली उत्पादनको व्यापारमा संलग्न उद्यमीले भोगिरहेका समस्या समाधान गर्न पनि कूटनीतिक पहलको माग गरिएको छ।

त्यस्तै, भारतस्थित नेपाली नागरिकका समस्या तत्काल सम्बोधन गर्न राजदूतावासमा स्थायी सहायता तथा समन्वय संयन्त्र स्थापना गर्नुपर्ने प्रस्ताव गरिएको छ। कानुनी सहायता, श्रमिक समस्या, महिला तथा बालबालिकाको सुरक्षा, आपत्कालीन उद्धार, बिरामी तथा असहाय नागरिकलाई सहयोग र मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने प्रक्रियामा तत्काल सहजीकरण गर्ने व्यवस्था मिलाउन समाजले आग्रह गरेको छ।

नेपाली समाज भारत सन् १९७९ देखि प्रवासी नेपालीको हकहित, सामाजिक सुरक्षा, एकता, आपसी सहयोग तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै खड्काले संगठनले राजनीतिक आग्रहभन्दा माथि उठेर सम्पूर्ण नेपाली समुदायको साझा हितका लागि काम गर्दै आएको बताएका छन्।

ज्ञापनपत्रमा भारतमा रहेका नेपाली नागरिकले श्रम, सीप, व्यवसाय र सेवामार्फत दुवै देशको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र अधिकार संरक्षण गर्नु नेपाल र भारत दुवैको साझा हितको विषय भएको जनाइएको छ।

समाजले प्रस्तुत १० बुँदे मागलाई गम्भीरतापूर्वक अध्ययन गरी भारतीय सरकारका सम्बन्धित निकायसँग कूटनीतिक संवाद गर्न तथा नेपाली राजदूतावास र भारतस्थित नेपाली समुदायबीच नियमित संवाद र सहकार्यको संयन्त्र विकास गर्न राजदूत पाण्डेसमक्ष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको