काठमाडौं : नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरेको छ । वडा कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत नै चयन गरेको छ। शनिबार र आइतबार वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए । दुई दिनमा ६ हजार १३२ वडामा कार्यसमिति चयन भएको छ भने विधानअनुसार क्षेत्रीय प्रतिनिधि पनि चयन भइसकेका छन्।
‘असोज ३ र ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकिएको छ। अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ,’ उनले भने ।
कहाँ कहाँ सकियो अधिवेशन ?
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ क्षेत्र नं ६ (वाहेक), सुनसरी, सप्तरी क्षेत्र नं २ र ४ बाहेक, धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं २ बाहेक), रौतहट ( क्षेत्र नं १ बाहेक) , बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी क्षेत्र नं २ बाहेक, रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्व), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा अधिवेशन भएको हो।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक सप्तरी क्षेत्र नं २ र ४, सिराहा, मोरङ क्षेत्र नं ६, रौतहट क्षेत्र नं १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ मा अधिवेशन हुन बाँकी छ। शनिबार र आइतबार अधिवेशन हुन नसकेका ठाउँमा सोमबार अधिवेशन हुनेछ ।




