काठमाडौं : रसुवा,नुवाकोट र धादिङमा विनाशकारी बाढीपछि उद्धार तथा राहतका काम तीव्र पारिए पनि बाढीले बगाएका जीवन भने अन्य भौतिक संरचना झैँ फर्काउन नसकिने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजकको कार्यालय,मानवीय साझेदार संस्था र मानवीय मामिला समन्वयसम्बन्धी कार्यालय (ओचा) ले संयुक्त रूपमा सार्वजनिक गरेको ‘नेपाल: रसुवा बाढी फ्ल्यास अपडेट–४’ मा बाढीपछिको उद्धार तथा राहतमा अन्तर्राष्ट्रिय सहयोग निरन्तर बढे पनि ठूलो मानवीय क्षतिबीच तत्काल उद्धार, राहत र पुनःस्थापनाका प्रयाससँगै बेपत्ता व्यक्तिको खोजी र परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनु सबैभन्दा ठूलो चुनौती देखिएको ठहर गरिएको छ ।
प्रतिवेदनले एउटा कठोर यथार्थ पनि औंल्याएको छ—उद्धार गरेर मानिसको जीवन जोगाउन सकिन्छ, भौतिक क्षति भएका पुल, सडक, विद्युतगृह पुनर्निर्माण गर्न सकिन्छ, तर बाढीले बगाइसकेका जीवन भने कुनैपनि राहत र पुनर्निर्माणले फर्काउन सक्दैन ।
बाढीमा हिजोसम्म मृत्यु हुनेको संख्या करिब एक हजार पुगेको उल्लेख छ। बाढीबाट प्रभावित १५ स्थानीय तहमा सरकारले बाढी आपतकाल घोषणा गरेको छ भने थप दुई स्थानीय तहलाई प्रभावित क्षेत्रका रूपमा तोकेको छ। तीन हजारभन्दा बढी बेपत्ता रहेको र २६७ जना घाइते भएको प्रभावित क्षेत्रका ६५ हजार जनालाई तत्काल खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी सहयोग आवश्यक रहेको उल्लेख छ ।
बाढी प्रभावित २२ हजार १०० जनालाई संरक्षणसम्बन्धी सहयोग आवश्यक रहेको राष्ट्र संघले जनाएको छ। बाढीले १९ वटा विद्यालयमा क्षति पुर्याएको छ। यसबीचमा रसुवा, नुवाकोट र धादिङमा मानवीय आवश्यकता अत्यधिक बढेको प्रतिवेदनमा लेखिएको छ ।
विशेषगरी जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली, भारतीय र चिनियाँ उद्धार टोलीले संयुक्त रूपमा काम गरिरहेको र त्रिशूली–३ ‘ए’, हाकुबेसी, त्रिशूली–३ ‘बी’ र चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी रहेको गत बुधबारदेखि हिजो सोमबारसम्मको घटना विवरणलाई समेटिएको प्रतिवेदनमा उल्लेख छ।
यसबीच, मुग्लिन–मलेखु सडकखण्डको कृष्णभीर र पार्वतीभीर क्षेत्रमा सडकको तल्लो भाग त्रिशुली नदीले बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध छ । धादिङ र नुवाकोटमा विद्युत् आपूर्ति पुनःस्थापित भए पनि रसुवामा विद्युत् पुनःस्थापनाको काम जारी छ ।




