काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल क्यान ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीले ठूलो जनधनको क्षति पुर्याउँदै सयौँ परिवारलाई विस्थापित बनाएको र प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता बढिरहेका बेला नेपाल क्यान ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत उल्लेखनीय आर्थिक सहयोग गरेको हो।
ग्रुपले प्रदान गरेको १० लाख रुपैयाँले विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। विपद्को समयमा पीडित नागरिकको साथमा उभिँदै निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघ–संस्थाबाट सहयोगको क्रम बढिरहेका बेला नेपाल क्यान ग्रुपको यो योगदानले संकटको घडीमा सामाजिक एकता, मानवीय संवेदना र जिम्मेवारीको सकारात्मक सन्देश दिएको छ।
रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत, अस्थायी आवास तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिनुपर्ने अवस्था छ। यस्तो अवस्थामा आर्थिक तथा भौतिक सहयोगमार्फत पीडित परिवारको जीवन सामान्य बनाउन हातेमालो गर्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।




