काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र फसेका मानिसको आशंकामा गरिएको खोजीमा कोही पनि फेला नपरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीका कारण आयोजनाको सुरुङभित्र करिब १४ जना फसेको हुन सक्ने आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा उद्धार टोली खोजीमा खटिएको थियो। इन्जिनियर र ड्रोन टोलीसहित सुरुङभित्र प्रवेश गरेको उद्धार टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो। सुरुङको भित्री भागमा ड्रोनसमेत उडाएर खोजी गर्दा पनि मानवीय उपस्थिति फेला नपरेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।
सुरुङभित्र कुनै पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले खोजी कार्य सम्पन्न गरेको छ। त्यसपछि टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भोटेकोशीमा आएको बाढीबाट रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीपछि आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको र सुरुङभित्र समेत मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेनासहितका सुरक्षा निकायले खोजी तथा उद्धार कार्य अघि बढाएका थिए।




