काठमाडौँ । आगामी भदौ १२ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। यसक्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्।
डबिङपछि उनले फिल्मको कथा आफूले अपेक्षा गरेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै फरक शैली र मन छुने पटकथाले आफूलाई प्रभावित पारेको बताइन्।
फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारीले पनि निर्माण अपेक्षाअनुसार अघि बढिरहेको जनाउँदै दीपाश्रीसहित सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेकी छन्।
‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा नीता ढुङ्गाना अधिकारी, दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय छ।
हरिहर अधिकारी निर्माता रहेको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ। यसअघि यही ब्यानरले ‘ह्रस्वदीर्घ’ निर्माण गरेको थियो।




