काठमाडाैं। युवा सनसनी लामिने यामाल र अनुभवी स्ट्राइकर मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनको मद्दतले पूर्व विश्वविजेता स्पेनले विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गतको खेलमा साउदी अरेबियामाथि ४-० को सहज र सानदार जित दर्ता गरेको छ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले यो सानदार जितसँगै प्रतियोगितामा बलियो पुनरागमन गर्दै आफ्नो वास्तविक लय समातेको संकेत दिएको छ।

पहिलो खेलमा केप भर्डजस्तो तुलनात्मक रूपमा कमजोर टोलीसँग गोलरहित बराबरीमा रोकिँदा तीव्र आलोचना खेपेको स्पेनले यस खेलमा सुरुदेखि नै आक्रामक र डोमिनेटिङ फुटबल पस्किएको थियो।

आइतबार राति एटलान्टाको मर्सिडिज-बेन्ज स्टेडियममा भएको एकपक्षीय खेलमा स्पेनका लागि खेलको १० औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। चोट र लामो समय बेन्चमा बिताएपछि मैदान फर्किएका १८ वर्षीय विङ्गर यामालले खेल अवधिभर साउदीका डिफेन्डरहरूलाई निकै व्यस्त र दबाबमा राखेका थिए।

खेलको १० औं मिनेटमा ओयार्साबालको पासलाई आकर्षक रूपमा सदुपयोग गर्दै यामालले ब्याक पोस्टबाट बललाई जाली चुमाएर आफ्नो विश्वकप करियरकै पहिलो गोल दर्ता गर्न सफल भए, जसले युरो कपमा तहल्का मच्चाएका यी युवा खेलाडीको विश्वकप मञ्चमा पनि सुखद् आगमन गराएको छ।

पहिलो खेलमा गोल गर्न नसकेका कारण आलोचकहरूको निसानामा परेका स्ट्राइकर मिकेल ओयार्साबालले पहिलो हाफमै दुई गोल थपेपछि स्पेनले हाफ-टाइमअघि नै ३-० को बलियो र सुरक्षित अग्रता बनाएको थियो।

खेलमा पूर्ण नियन्त्रण राख्ने क्रममा ड्यानी ओल्मो र डिफेन्डर एम्रिक लापोर्टको सन्तुलित समन्वयमा आएको बललाई ओयार्साबालले पोस्टको दिशा दिँदै टोलीको अग्रता दोब्बर पारेका थिए।

त्यसको तीन मिनेट नबित्दै पेड्रो पोरो र मार्क कुकुरेलाको सुन्दर विङ्गर पासमा ओयार्साबालले वन–टचमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपेपछि साउदी टोली पहिलो हाफमै पूर्ण रूपमा रक्षात्मक बन्न बाध्य भएको थियो।

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो ६५ औं जन्मदिन मनाइरहँदा स्पेनी टोलीले उनलाई मैदानमा उत्कृष्ट जितको अविस्मरणीय उपहार दिएको छ। पहिलो हाफमै स्पष्ट अग्रता बनेपछि रणनीति अनुसार स्पेनले दोस्रो हाफमा आफ्ना मुख्य र महत्वपूर्ण खेलाडीहरूलाई आगामी खेलका लागि आराम दिएको थियो।

दोस्रो हाफको सुरुमै अर्थात् खेलको ४८ औं मिनेटमा स्पेनको अर्को आक्रमणलाई रोक्ने प्रयास गर्दा साउदीका डिफेन्डर हसन अल–ताम्बाक्तीको खुट्टामा ठोक्किएर बल आत्मघाती गोलमा परिणत भएको थियो। सो आत्मघाती गोलसँगै स्पेनले ४-० को विशाल अग्रता लियो र बाँकी समयमा साउदीले केही सुधारिएको डिफेन्स गरे पनि गोल फर्काउन नसक्दा सोही नतिजा खेलको अन्तिमसम्म कायम रह्यो।

यो फराकिलो जितसँगै समूह ‘एच’ मा स्पेनको २ खेलबाट १ जित र १ बराबरीसहित स्पष्ट ४ अंक भएको छ र उसले नकआउट चरण (राउन्ड अफ १६) मा पुग्ने सम्भावनालाई निकै बलियो बनाएको छ।

अर्कोतर्फ, पहिलो खेलमा पनि अंक बाँडेको साउदी अरेबियाको समान २ खेलबाट केवल १ अंक मात्र छ, जसका कारण साउदीलाई अघिल्लो चरणमा प्रवेश गर्न अब समूह चरणको अन्तिम खेलमा गर या मरको अवस्था सिर्जना भएको छ। स्पेनले अब समूह चरणको आफ्नो अन्तिम खेलमा थप आत्मविश्वासी भएर मैदान उत्रने अवसर पाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको