तेजन खड्का

काठमाडौं– नेपाली फिल्म ‘रोल नं १’ ले नेपालको ग्रामीण समाज, गरीवी, अभिभावकको अपेक्षा, बालबालिकामाथि पर्ने शैक्षिक दवाव तथा वर्तमान शिक्षा प्रणालीका विभिन्न पक्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।

यो फिल्म एउटा परिवारको कथा मात्र होइन, हजारौँ नेपाली परिवारले भोगिरहेको यथार्थको प्रतिनिधित्व गर्ने सामाजिक दस्तावेज पनि हो । फिल्मले विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, अंक र श्रेणीको आधारमा हुने मूल्याङ्कन, अभिभावकको अत्यधिक अपेक्षा तथा बालबालिकाको वास्तविक रुचि र क्षमताबीचको द्वन्दलाई प्रभावकारी रूपमा चित्रण गरेको छ ।

यो फिल्मको केन्द्रमा एक गरीव बुवा सञ्चार परियार तथा उनका छोरा ज्ञानेको कथा छ । सञ्चार परियारको भूमिकामा अभिनेता मुकुन भुसालले जीवन्त अभिनय गर्नु भएको छ भने बाल कलाकार निर्भीक रेग्मीले ज्ञानेको भूमिकालाई अत्यन्त स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन् ।

फिल्मको कथाले एउटा बुवाको सपना र एउटा बालकको वास्तविक चाहनाबीचको अन्तरलाई गहिराइका साथ उजागर गर्छ । आफ्ना सन्तानले आफूले पूरा गर्न नसकेका सपना पूरा गरून् भन्ने चाहना धेरै अभिभावकमा हुन्छ । तर जब त्यो चाहना दवावमा बदलिन्छ, त्यसले बालबालिकाको मानसिक अवस्था, आत्मविश्वास र भविष्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश फिल्मले दिएको छ ।

कथाको सुरुवात म्याग्दीको एउटा विकट गाउँबाट हुन्छ । सञ्चार परियार गाउँमा दमाहा बजाएर सूचना दिने काम गर्नुहुन्छ । आर्थिक रूपमा कमजोर भए पनि उनको एउटा ठूलो सपना छ(छोरा ज्ञानेलाई पढाएर सफल बनाउने । परिवारमा श्रीमती सरस्वती तथा छोरा ज्ञाने छन् । ज्ञाने सञ्चारको जैविक छोरा भए पनि सरस्वतीका लागि सौतेनी छोरा हुन् । तर सुरुवाती अवस्थामा सरस्वतीले ज्ञानेलाई आफ्नै सन्तानसरह माया गरेर हुर्काउनु हुन्छ । परिवारमा सुखद वातावरण रहेको देखिए पनि एउटा दुःखद घटनाले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।

समयमै अस्पताल पुग्न नसक्दा नवजात शिशुको मृत्यु हुन्छ । यो घटनाले दम्पतीबीचको सम्बन्धमा दरार ल्याउँछ । सरस्वतीको मनमा पीडा र असन्तुष्टि बढ्छ । त्यसपछि ज्ञानेप्रति उनको दृष्टिकोण पनि बदलिन थाल्छ । फिल्मले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अभाव र त्यसबाट उत्पन्न पारिवारिक तथा मानसिक समस्यालाई पनि संकेत गरेको छ । एउटा सामान्य देखिने घटनाले कसरी परिवारभित्रको सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ भन्ने कुरा संवेदनशील रूपमा प्रस्तुत गरिएको छ ।

फिल्मको मुख्य विषय भनेको सञ्चारको सपना र ज्ञानेको रुचिबीचको टकराव हो । सञ्चार आफ्ना छोरालाई विद्यालयमा ‘रोल नं १’ बनाउन चाहनु हुन्छ । उनका लागि सफलताको अर्थ विद्यालयमा प्रथम हुनु हो । त्यसैले छोरालाई उत्कृष्ट बनाउन उनी जुनसुकै कदम चाल्न पनि तयार हुनुहुन्छ । यहाँसम्म कि प्रश्नपत्र चोर्ने प्रयाससमेत गर्नुहुन्छ । यस घटनाले अभिभावकको अत्यधिक महत्वाकांक्षा र सामाजिक प्रतिष्ठाका लागि गरिने गलत व्यवहारलाई उजागर गर्छ । धेरै अभिभावकले आफ्ना सन्तानको सफलता आफ्नै सम्मानसँग जोडेर हेर्ने प्रवृत्ति नेपाली समाजमा अझै देखिन्छ । फिल्मले यही मनोविज्ञानलाई प्रश्न गरेको छ ।

यता ज्ञानेको रुचि भने पढाइमा छैन । उनी सिर्जनात्मक र व्यावहारिक कामतर्फ आकर्षित छन् । गाउँका बेगम बाजेसँग बसेर काठको काम सिक्न उनलाई रमाइलो लाग्छ । तर समाजले बेगम बाजेलाई ‘काम नलाग्ने’ मानिसका रूपमा हेरेको हुन्छ । गाउँलेहरूले सम्मान नगरेका व्यक्तिबाट ज्ञानेले जीवन उपयोगी सीप सिकिरहेको हुन्छ । यसले समाजमा प्रचलित धारणा र वास्तविक ज्ञानबीचको अन्तरलाई देखाउँछ। विद्यालयमा प्राप्त हुने सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक सीप पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश फिल्मले दिएको छ ।

बेगम बाजेको पात्र फिल्मको अत्यन्त अर्थपूर्ण पात्र हो। समाजले उपेक्षा गरे पनि उनीसँग जीवनको अनुभव र उपयोगी सीप हुन्छ । ज्ञानेलाई उनले केवल काठको काम मात्र सिकाउँदैनन्, आत्मविश्वास, श्रमको सम्मान र जीवनको वास्तविक मूल्य पनि सिकाउँछन् । यस पात्रमार्फत निर्देशकले परम्परागत सीप र व्यवहारिक ज्ञानको महत्त्वलाई उजागर गर्न खोज्नु भएको छ । आजको शिक्षा प्रणालीले अंक र प्रमाणपत्रलाई प्राथमिकता दिने हुँदा यस्ता सीपहरू ओझेलमा परेको वास्तविकता पनि फिल्मले देखाएको छ ।

यो फिल्मले नेपालको शिक्षा प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। विद्यालयमा विद्यार्थीहरूको मूल्याङ्कन मुख्यतः परीक्षा र अंकका आधारमा गरिन्छ । जसले धेरै अंक ल्याउँछ, ऊ नै उत्कृष्ट मानिन्छ। तर सबै बालबालिकाको क्षमता एउटै हुँदैन । कसैको रुचि विज्ञानमा हुन्छ, कसैको कला क्षेत्रमा, कसैको खेलकुदमा त कसैको प्राविधिक काममा। जब सबैलाई एउटै मापदण्डबाट नाप्ने प्रयास गरिन्छ, धेरै प्रतिभाशाली बालबालिका पछाडि पर्छन् । ज्ञानेको चरित्रले यही यथार्थलाई प्रतिनिधित्व गर्छ । उनी पढाइमा अब्बल नभए पनि काठको काममा दक्ष छन् । तर समाजले उनको त्यो प्रतिभालाई सुरुमा स्वीकार गर्दैन ।

फिल्मको अर्को महत्वपूर्ण पक्ष बाल मनोविज्ञानको चित्रण हो । ज्ञानेमाथि विद्यालयमा राम्रो अंक ल्याउन र प्रथम हुन निरन्तर दवाव हुन्छ । बुवाको सपना पूरा गर्नुपर्ने जिम्मेवारीले उनलाई मानसिक रूपमा थिचिरहेको हुन्छ । धेरै बालबालिकाले यस्तै दवावका कारण तनाव, डर र आत्मविश्वासको कमी भोगिरहेका हुन्छन् । फिल्मले बालबालिकालाई उनीहरूको रुचि र क्षमताअनुसार अघि बढ्न दिनुपर्ने आवश्यकता स्पष्ट रूपमा देखाएको छ ।

मुकुन भुसालले सञ्चार परियारको भूमिकामा अत्यन्त प्रभावशाली अभिनय गरेका छन् । एकातिर छोराप्रतिको माया र अर्कोतिर सफल बनाउने तीव्र चाहना(यी दुई भावनाबीचको द्वन्दलाई उनले उत्कृष्ट ढङ्गले प्रस्तुत गर्नु भएको छ । दर्शकले उनको पीडा, संघर्ष र सपना सहज रूपमा महसुस गर्न सक्छन् । त्यस्तै निर्भीक रेग्मीले ज्ञानेको भूमिकामा स्वाभाविक अभिनय गरेर फिल्मलाई अझ जीवन्त बनाएका छन् । बाल कलाकारका रूपमा उनको प्रस्तुति निकै प्रभावकारी देखिन्छ ।

रेनुनाथ योगीले सरस्वतीको भूमिकामा भावनात्मक गहिराइ थपेकी छिन् । दुःखद घटनापछि उत्पन्न हुने मानसिक पीडा, आक्रोश र परिवर्तनलाई उनले सशक्त रूपमा अभिव्यक्त गरेकी छिन् । सुवास गजुरेलको बेगम बाजे पात्र पनि स्मरणीय बनेको छ । कम संवाद भए पनि उनको उपस्थितिले फिल्मलाई विशेष अर्थ प्रदान गरेको छ । साथै लोकेन्द्र लेखक, शङ्कर आचार्य, देशभक्त खनाल र सिर्जना अधिकारीलगायत कलाकारहरूको अभिनयले कथालाई थप विश्वसनीय बनाएको छ।

निर्देशक जोन योन्जनले फिल्मको विषयवस्तुलाई सरल तर प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । ग्रामीण परिवेश, पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई चित्रण गर्न उनी सफल देखिन्छन् । पात्र चयनदेखि लिएर उनीहरूको अभिनय निखार्न गरिएको मेहनत फिल्मभरि देखिन्छ । छायाङ्कनले म्याग्दीको प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ । दृश्य संयोजन र कथाको गति पनि सन्तुलित छ ।

फिल्मको सबैभन्दा मर्मस्पर्शी दृश्यमध्ये एक ज्ञानेले बेगम बाजेबाट सिकेको सीप प्रयोग गरेर कुर्सी मर्मत गर्ने प्रसङ्ग हो । गाउँलेहरूले त्यसपछि उनलाई सम्मान दिन थाल्छन् । यही क्षणले फिल्मको मुख्य सन्देश उजागर गर्छ- सफलता विद्यालयमा प्रथम हुनुमात्र होइन, समाजका लागि उपयोगी व्यक्ति बन्नु पनि हो । ज्ञाने ‘रोल नं १’ नबने पनि आफ्नो सीप र मेहनतका कारण गाउँको हिरो बन्छ । यसले दर्शकलाई सफलता र शिक्षाको अर्थबारे पुनर्विचार गर्न प्रेरित गर्छ ।

समग्रमा ‘रोल नं १’ एउटा सशक्त सामाजिक फिल्म हो । यसले अभिभावक र सन्तानबीचको सम्बन्ध, गरीवी, शिक्षा प्रणाली, बाल मनोविज्ञान र सीपमूलक शिक्षाको महत्त्वलाई संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरेको छ । फिल्मले केवल मनोरञ्जन मात्र प्रदान गर्दैन, समाजलाई सोच्न बाध्य बनाउने सन्देश पनि दिन्छ । बुवाको सपना र छोराको सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मले दर्शकको मन छुने भावनात्मक यात्रा प्रस्तुत गर्छ । कथा, अभिनय, निर्देशन, छायाङ्कन र सन्देशका दृष्टिले ‘रोल नं १’ नेपाली चलचित्र क्षेत्रमा एक महत्त्वपूर्ण कृतिका रूपमा स्थापित भएको छ । त्यसैले यो फिल्म हरेक अभिभावक, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने व्यक्तिले एकपटक अवश्य हेर्नुपर्ने फिल्म हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको