नयाँ दिल्ली । रसुवा, नुवाकोटलगायत क्षेत्रमा गत २६ अगस्टमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाली समाज भारतले २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली समाज भारत, केन्द्रीय समितिले उक्त रकम नेपाली राजदूतावास, नयाँ दिल्लीका कार्यवाहक राजदूत डा.सुरेन्द्र थापामार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हस्तान्तरण गरेको हो।
केन्द्रीय सह–संयोजक आरबी खड्काको नेतृत्वमा रहेको नेपाली समाज भारतका नेता–कार्यकर्ताको टोलीले सहयोग रकम हस्तान्तरण गरेको समाजले जनाएको छ। टोलीमा सह–संयोजक वेदप्रकाश भण्डारी, वरिष्ठ सदस्य मानु श्रेष्ठ, नारायण विक, दीपक जीसी, माइकल क्षेत्री, नारायण बिष्ट, लक्ष्मण सोनी तथा समाजसेवी लक्ष्मी रावतलगायत सहभागी थिए।
नेपाली समाज भारतले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी, प्रभावितको उद्धार तथा राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समाजका अनुसार यसअघि पनि भारतका विभिन्न राज्य समितिको पहलमा प्रधानमन्त्री राहत कोषमा करिब २ लाख रुपैयाँ सहयोग पठाइसकिएको छ। मानवीय सहयोग अभियानको प्रारम्भिक चरणमा तमिलनाडु–पुडुचेरी संयुक्त राज्य समितिबाट ५० हजार रुपैयाँ तथा पञ्जाब–जम्मु कश्मीर, पञ्जाब–हरियाणा, महाराष्ट्र, दिल्ली एनसीआर, कर्नाटक, मध्यप्रदेश, उत्तर प्रदेश, हिमाचल प्रदेश, गोवा, गुजरात, आन्ध्र प्रदेश–तेलंगाना, तमिलनाडु–केरला र चण्डीगढलगायत राज्य समितिको पहलमा थप सहयोग रकम पठाइएको समाजले जनाएको छ।
नेपाली समाज भारतले राहत अभियानमा आर्थिक तथा नैतिक सहयोग गर्ने भारतभरिका नेपाली समाजका राज्य तथा नगर समिति, नेता–कार्यकर्ता, सदस्य, नेपाली तथा भारतीय समुदाय र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।
समाजले विपत्तिको समयमा नेपाली समुदायबीच देखिएको एकता, सहयोग र मानवीय भावनालाई निरन्तरता दिन आग्रह गर्दै देश–विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अपिलसमेत गरेको छ।




