काठमाडौं । प्रशासन सेवातर्फ सचिव बढुवा प्रक्रिया अघि बढिरहेका बेला प्राविधिक तथा इन्जिनियरिङ सेवातर्फ भने दरबन्दी रिक्त हुँदासमेत बढुवा प्रक्रिया अघि नबढेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) ले आपत्ति जनाएको छ।इन्जिनियरिङ सेवातर्फ सचिवका दरबन्दी रिक्त रहेको अवस्थामा समेत बढुवा प्रक्रिया रोकिराख्नु प्राविधिक जनशक्तिमाथिको विभेद भएको एसोसिएसनको भनाइ छ। एसोसिएसनले प्राविधिक सेवातर्फ पनि तत्काल बढुवा प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ।
एसोसिएसनका कार्यकारिणी सदस्य इन्जिनियर यमकृष्ण पौडेलले राज्यले लामो समयदेखि प्राविधिक जनशक्तिलाई उपेक्षा गर्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पौडेलले देशको प्रधानमन्त्रीसमेत इन्जिनियर रहेको अवस्थामा पनि प्राविधिक क्षेत्रका जायज मागको सुनुवाइ नहुनु दुःखद् र विडम्बनापूर्ण अवस्था भएको बताए।
उनका अनुसार देशको विकास निर्माण, पूर्वाधार विकास, योजना कार्यान्वयन तथा प्राविधिक सेवा प्रवाहमा इन्जिनियरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि राज्यको नीति तथा व्यवहारमा प्राविधिक जनशक्तिलाई उचित प्राथमिकता नदिइएको देखिन्छ। राज्यले प्राविधिकलाई जहिले पनि उपेक्षा गर्दै आएको छ। अहिले देशको प्रधानमन्त्री नै इन्जिनियर हुनुहुन्छ, तर पनि प्राविधिक क्षेत्रका जायज विषयमा सुनुवाइ नहुनु दुःखद् हो,”कार्यकारिणी सदस्य पौडेलले भने।
उनले प्रशासन सेवातर्फ सचिव बढुवा प्रक्रिया अगाडि बढाइँदा प्राविधिक तथा इन्जिनियरिङ सेवातर्फ रिक्त दरबन्दी हुँदाहुँदै पनि बढुवा रोकिराख्नु उचित नभएको बताए। प्राविधिकतर्फ पनि दरबन्दी रिक्त छन्। योग्य र वरिष्ठ इन्जिनियरहरू बढुवाको पर्खाइमा छन्। त्यसैले प्रशासनतर्फ जस्तै प्राविधिक सेवातर्फ पनि तत्काल बढुवा प्रक्रिया अगाडि बढाउनुपर्छ,”पौडेलले जोड दिए।
नेपाल इन्जिनियर्स एसोसिएसनले प्राविधिक सेवाका कर्मचारीको वृत्ति विकास, पेशागत सम्मान र जिम्मेवारीअनुसारको अवसर सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ।




