काठमाडौँ, असार ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशव्यापी रूपमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले सङ्गठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको हो ।
यही असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनअघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै पाँच प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले हालसम्म देशभरका छ हजार ७४३ वडामध्ये चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ६०९ पालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ । त्यसै गरी ७७ जिल्लामध्ये ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरिएको छ ।
महाधिवेशनपूर्व सम्पन्न प्रदेश अधिवेशन अन्तर्गत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ । कोशी प्रदेश सभापतिमा चन्द्र राई, बागमती प्रदेश सभापतिमा उत्सव अर्याल, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी र लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशको नेतृत्वमा प्रकाश विष्ट पुनः निर्वाचित हुनुभएको छ । धनगढीमा सम्पन्न प्रदेश अधिवेशनमा विष्टले ३५८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य जनकसिंह धामीलाई पराजित गर्नुभएको थियो ।
बागमती प्रदेशमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा उत्सव अर्यालले निवर्तमान सभापति अच्युतम लामिछानेलाई दुई मतको अन्तरले पराजित गर्दै नेतृत्व समाल्नुभएको छ । गण्डकी प्रदेशमा नवीन त्रिपाठीको नेतृत्वसँगै नयाँ पुस्ताको सहभागिता थप सशक्त बनेको पार्टीको भनाइ छ ।
लुम्बिनी प्रदेशमा प्रारम्भिक चरणमा कुनै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदानमार्फत शालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित हुनुभएको थियो । कर्णाली प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ भने मधेश प्रदेशको अधिवेशन केही प्राविधिक तथा प्रतिनिधित्वसम्बन्धी विषयमा छलफल भइरहेकाले स्थगित गरिएको पार्टीले जनाएको छ ।
कर्णाली प्रदेशको डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुमपूर्व, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा मधेश प्रदेशको धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी रहेको छ । त्यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा सुरु भएको निर्वाचन प्रक्रिया विभिन्न कारणले स्थगित भएको जनाइएको छ ।
रास्वपाले प्रदेश तथा जिल्ला अधिवेशनहरूलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा सञ्चालन गर्दै प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरेको जनाएको छ । पार्टीले ‘एक पद, एक व्यक्ति’ को सिद्धान्त अवलम्बन गर्दै पारदर्शी, विधिसम्मत र सहभागितामूलक ढङ्गले नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
रास्वपाका केन्द्रीय निर्वाचन आयोगका संयोजक भुवन केसीका अनुसार बाँकी जिल्लामा पनि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । पार्टीले अधिवेशन सम्पन्न हुन बाँकी रहेका संरचनाको नेतृत्व चयन महाधिवेशनपछि टुङ्ग्याउने तयारी गरेको छ ।
यसैबिच चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनमा देश तथा विदेशबाट करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने छ ।
नयाँ केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणालीको प्रयोग गरिने छ । विदेशमा रहेका करिब १७० प्रतिनिधिका लागि मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
पार्टीले महाधिवेशनलाई प्रविधिमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्य लिएको जनाएको छ । सम्पूर्ण निर्वाचन प्रक्रिया विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनलाई सङ्गठनको संस्थागत विकास, नीति निर्माण तथा नेतृत्व चयनको महìवपूर्ण अवसरका रूपमा लिएको केन्द्रीय सदस्य धनेज थापाले बताउनुभयो ।
महाधिवेशनले पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्नुका साथै सङ्गठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने उहाँले स्पष्ट पार्नुभयो ।



