काठमाडौं । मोडल तथा नायिका सृष्टि खड्काले वर्ष २०२६ को उत्कृष्ट मोडलको अवार्ड हात पारेकी छन्। राजधानीमा आइतबार भव्य रूपमा सम्पन्न ९औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा उनले यो सफलता चुमेकी हुन्। सृष्टिले चर्चित लोकदोहोरी गीत परदेशीको म्युजिक भिडियोमा गरेको जीवन्त अभिनयका लागि यो अवार्ड प्राप्त गरेकी हुन्। यस्तै, सोही विधाको पुरुषतर्फ भने सदाबहार नायक आर्यन सिग्देलले उत्कृष्ट अवार्ड हात पारेका छन्।
नेपाली कलाक्षेत्रमा विगत केही वर्षदेखि लगातार सक्रिय सृष्टि मोडलिङ र अभिनय दुवै विधामा एक स्थापित नाम हो। विधागत रूपमा भर्सटाइल मानिने सृष्टिले हालसम्म दर्जनौं लोकदोहोरी, आधुनिक तथा पप गीतका भिडियोहरूमा आफ्नो अभिनय कला देखाइसकेकी छन्। डान्सिङ नम्बरदेखि गम्भीर र सेन्टिमेन्टल भूमिकामा उत्तिकै सुहाउने उनी नेपाली म्युजिक भिडियो उद्योगकी ब्यस्त मोडलहरूमध्ये पर्छिन्।

म्युजिक भिडियोमा बलियो पहिचान बनाएपछि सृष्टिले नेपाली रजतपटमा समेत पाइला चालिन्। उनले नेपाली कथानक चलचित्र पुरानो बुलेट मार्फत नायिकाको रूपमा ठूलो पर्दामा डेब्यु गरेकी थिइन्। फिल्ममा उनको अभिनयको चौतर्फी प्रशंसा भएको थियो। केवल ग्ल्यामर विधामा मात्र सीमित नरही उनी मौलिक, सांस्कृतिक र सन्देशमूलक कथावस्तुमा काम गर्न रुचाउँछिन्। अवार्ड विजेता गीत परदेशीमा पनि उनले वैदेशिक रोजगारीमा गएका श्रीमानको पर्खाइमा रहेकी नेपाली नारीको पीडा र संवेदनालाई पर्दामा दुरुस्तै उतारेकी छन्।

नेपालका विभिन्न भाषाभाषी, संस्कृति र विधाका गीतसंगीतलाई समेट्ने प्रतिष्ठित मञ्चको रूपमा राष्ट्रिय समावेशी म्युजिक अवार्डलाई लिइन्छ। आइतबार सम्पन्न नवौं संस्करणमा सुगम संगीत, लोकदोहोरी, र भिडियो विधाका उत्कृष्ट श्रष्टाहरूलाई सम्मानित गरिएको थियो। दर्जनौं स्थापित प्रतिस्पर्धीहरूक बीच परदेशी भिडियोबाट सृष्टिले मारेको यो बाजीले उनको व्यावसायिक करियरलाई थप उचाइमा पुर्याएको छ।
अवार्ड हात पारेपछि संक्षिप्त प्रतिक्रिया दिँदै सृष्टिले यो अवार्ड आफ्ना सम्पूर्ण दर्शक, स्रोता र परदेशीको टिमको मायाको प्रतिफल भएको बताइन्। उनले यस सम्मानले आफूलाई आगामी दिनमा अझ परिपक्व र उत्कृष्ट काम गर्ने जिम्मेवारी थपेको महसुस गराएको समेत उल्लेख गरेकी छन्।



