काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालका विभिन्न चर्चित र विवादास्पद घटनामाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
उनले राजदरबार हत्याकाण्ड मात्र नभई नेकपा एमालेका तत्कालीन नेता मदन भण्डारीको मृत्यु, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन तथा अन्य बहुचर्चित घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राखेका हुन्।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्वागतयोग्य भए पनि त्यसलाई सीमित विषयका रूपमा लिन नहुने बताए। उनका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा निष्पक्ष अनुसन्धान अघि बढाइनुपर्छ।
उनले मदन भण्डारीको मृत्युबारे लामो समयदेखि विभिन्न आशंका र प्रश्न उठ्दै आएको उल्लेख गर्दै त्यसको वास्तविकता पनि सार्वजनिक हुनुपर्ने बताए। त्यस्तै, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबारे समय–समयमा उठ्ने शंकाको समेत छानबिन आवश्यक रहेको उनको भनाइ थियो।
घिसिङले कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरण अझै निष्कर्षमा नपुगेको भन्दै सरकारले दोषी पत्ता लगाएर घटनाको यथार्थ सार्वजनिक गर्नुपर्ने बताए। साथै, टीकापुर घटनापछि गठन गरिएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै त्यसलाई तत्काल सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरे।
उनले राजनीतिक रूपमा चर्चामा रहेका घटनामात्र नभई जनचासोका सबै गम्भीर विषयमा पारदर्शी र विश्वसनीय अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरे।
सहकारी ठगी प्रकरणबारे बोल्दै अध्यक्ष घिसिङले पीडितहरूले अझै आफ्नो बचत रकम फिर्ता नपाएको उल्लेख गरे। विभिन्न निकायबाट अनुसन्धान भए पनि पीडितलाई न्याय दिलाउने काम प्रभावकारी रूपमा हुन नसकेको उनको टिप्पणी थियो।
उनले सहकारी पीडितको रकम सरकारी स्रोतबाट नभई अनियमिततामा संलग्न व्यक्तिहरूबाट असुल गरी फिर्ता गरिनुपर्ने बताए। साथै, सहकारी प्रकरणमा नाम जोडिएका जीबी राईलाई नेपाल ल्याएर सार्वजनिक रूपमा आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने धारणा राखे। त्यसबाट घटनाको वास्तविकता उजागर हुन सक्ने उनको विश्वास थियो।
प्रधानमन्त्री बालेन्द्र साहले हालै दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि घिसिङले असन्तुष्टि जनाए। राष्ट्रिय संवेदनशीलतासँग जोडिएका विषयमा जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति दिनुपर्ने उनको भनाइ थियो।



