निसान ढकाल
उर्लाबारी । “महिलाले केही गर्न सक्दैनन् भन्ने सोच आज पनि समाजका धेरै कुनाकाप्चामा जीवित छ। तर महिलाहरूले सगरमाथाको चुचुरो चुमिसकेका छन्, राष्ट्रको सर्वोच्च पद सम्हालिसकेका छन्। अवसर र जिम्मेवारी पाए भने महिलाका लागि असम्भव केही छैन।”
यो भनाइ हो बिन्दु सिटौला लक्कीको। एउटा यस्तो महिलाको, जसले आफूले भोगेका संघर्षलाई शक्ति बनाएर समाजसेवा, उद्यमशीलता र वैकल्पिक राजनीतिको यात्रामा अलग पहिचान बनाएकी छन्।

आज पनि नेपाली समाजका धेरै महिलाहरूको जीवन चुलो–चौका, घाँस–दाउरा र घरभित्रका सीमित जिम्मेवारीमा बाँधिएको छ। महिलाको क्षमता भन्दा बढी उनको छोरी मान्छे भनी हेयका रुपमा हेरिने मूल्याङ्कन गर्ने पुरानो सोच अझै समाजमा बाँकी छ। त्यही सोचलाई चुनौती दिँदै अगाडि बढिरहेकी एक साहसी महिला हुन्, बिन्दु सिटौला लक्की।

May be an image of one or more people
तेह्रथुमको ऐतिहासिक १३ थुमको माटोमा जन्मिएकी लक्कीको बाल्यकाल सहज थिएन। पहाडको विकट भौगोलिक परिवेश, सीमित अवसर र आर्थिक कठिनाइबीच हुर्कँदै गर्दा उनले संघर्षलाई जीवनको अभिन्न पाठका रूपमा सिकिन्। गाउँका धेरै छोरीहरूझैँ उनले पनि समाजका ती नजरहरू महसुस गरिन्, जसले महिलाको सपना भन्दा उसको सीमालाई बढी देख्थे।

जीवनका अनेक चुनौतीसँग जुध्दै उनी झापाको दमक आइपुगिन्। नयाँ ठाउँ, नयाँ परिवेश र अनिश्चित भविष्यका बीच उनले हार मानिनन्। दिनरातको मेहनत, आत्मविश्वास र दृढ इच्छाशक्तिका बलमा उनले आफ्नो व्यवसायिक यात्रा सुरु गरिन्। इन्टेरियर डेकोरेसन तथा ब्लक उद्योगमार्फत उनले आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरिन्।
तर उनको यात्रा मात्र आर्थिक सफलतामा सीमित रहेन। व्यवसायबाट कमाएको अनुभव र आत्मनिर्भरतालाई उनले समाजसेवामा रूपान्तरण गरिन्। समाजमा कसैलाई दुःख पर्दा सहयोग गर्ने, विपद्का बेला साथ दिने, युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने र समुदायका साझा मुद्दामा आवाज उठाउने काममा उनी निरन्तर सक्रिय रहिन्।

उनी प्रचारभन्दा परिणाममा विश्वास गर्छिन्। त्यसैले उनको समाजसेवा भाषणमा भन्दा व्यवहारमा बढी देखिन्छ। स्थानीय समुदायमा उनी सहयोगी, जिम्मेवार र भरोसायोग्य व्यक्तित्वका रूपमा परिचित छिन्।
बिन्दु सिटौला लक्कीको जीवनको अर्को महत्वपूर्ण अध्याय राजनीति हो। उनले राजनीतिलाई पद, शक्ति वा व्यक्तिगत लाभको साधनका रूपमा कहिल्यै हेरिनन्। बरु समाज परिवर्तनको अभियानका रूपमा बुझिन्। यही सोचका साथ उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत वैकल्पिक राजनीतिको यात्रामा सक्रिय भइन्।

May be an image of one or more people
उनको विश्वास छ— देशलाई बदल्न इमानदार, जवाफदेही र उत्तरदायी राजनीतिक संस्कार आवश्यक छ। राजनीति केही व्यक्तिको वरिपरि घुम्ने माध्यम होइन, जनताको जीवनस्तर सुधार्ने अभियान हुनुपर्छ।
महिला नेतृत्वका विषयमा उनी स्पष्ट धारणा राख्छिन्। लासाङ ल्हामु शेर्पाले सगरमाथाको चुचुरो चुमेको उदाहरण दिँदै उनी भन्छिन्, “जब महिलाले संसारकै सर्वोच्च शिखर चुम्न सक्छन् भने समाज र देशको नेतृत्व किन गर्न सक्दैनन् ?”
त्यसैगरी नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको उदाहरण प्रस्तुत गर्दै उनी महिलाहरूले राष्ट्रको सर्वोच्च जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेको बताउँछिन्।

May be an image of one or more people and scarf
“अब महिलाहरू चुलो–चौका र घाँस–दाउरामा मात्र सीमित हुनु हुँदैन। निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ, नेतृत्व गर्नुपर्छ र राष्ट्र निर्माणको अभियानमा अग्रपंक्तिमा उभिनुपर्छ,” उनी दृढतापूर्वक भन्छिन्।
उनको जीवनकथा संघर्षबाट सफलता प्राप्त गर्ने काहानी मात्र होइन। यो महिलालाई कमजोर ठान्ने सोचविरुद्धको विद्रोह हो। आत्मनिर्भरता, समाजसेवा, नेतृत्व र परिवर्तनको यात्राको कथा हो,यो ।
आज बिन्दु सिटौला लक्की सफल उद्यमी, समर्पित समाजसेवी र वैकल्पिक राजनीतिको सक्रिय अभियन्ताका रूपमा परिचित छिन्। भविष्यमा नगर, समाज र राष्ट्रलाई नेतृत्व गर्ने सपना बोकेर अगाडि बढिरहेकी उनी धेरै युवतीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्।
संघर्षले खारिएको साहस, सेवाले कमाएको सम्मान र परिवर्तनप्रतिको अटल विश्वास:यही हो बिन्दु सिटौला लक्कीको वास्तविक परिचय।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको