काठमाडौँ, जेठ १५ । नेपाल तरुण दलले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक संघर्ष एवं जनआन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।  २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै गर्दा तरुण दलले विज्ञप्ति जारी गरी युवाहरूको त्याग र गौरवपूर्ण इतिहासको स्मरण गरेको हो।

नेपालको राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाको मुख्य आधार र निर्णायक शक्ति युवाहरू नै रहेको कुरा इतिहासले प्रमाणित गरेको तरुण दलले उल्लेख गरेको छ। ०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको दृढ नेतृत्व र लाखौँ युवाहरूको अदम्य साहस, सडक संघर्ष तथा बलिदानको बलमा नै मुलुकमा राजतन्त्रको अन्त्य सम्भव भएको तरुण दल अध्यक्ष मनिष काेइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

`गणतन्त्र केवल एउटा व्यवस्था मात्र होइन, यो त युवाहरूको रगत र पसिनाले लेखिएको नागरिक सर्वोच्चताको अमूल्य दस्तावेज हो। हिजो व्यवस्था बदल्ने आँट गरेका युवाहरूसँग नै आज देशको अवस्था बदल्ने सामर्थ्य र क्षमता छ, ´ अध्यक्ष काेइरालाले भनेका छन् ।

गणतन्त्र दिवसको अवसरमा युवाहरूको ऊर्जा, नवप्रवर्तन र बौद्धिकतालाई राष्ट्र निर्माणको मूल प्रवाहमा जोड्नुपर्ने आवश्यकतामा तरुण दलले विशेष जोड दिएको छ। युवा शक्तिलाई देश विकासमा समाहित गर्न सके मात्र समृद्ध नेपालको सपना साकार हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ।

साथै, युवाहरूको त्याग र बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन र न्यायपूर्ण समाज निर्माण गर्न सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा मिलोस् भन्ने कामना समेत नेपाल तरुण दलले गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको