काठमाडौँ । निर्वाचनमा पार्टीले बेहोरेको अप्रत्याशित पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिकताका आधारमा राजीनामा दिने चर्चा चलिरहँदा कांग्रेस पाका नेता अर्जुननरसिंह केसीले राजीनामा नदिन सुझाव दिएका छन् । केसीले थापालाई राजीनामा नदिन र जिम्मेवारीबाट नपन्छिन सुझाव दिएका हुन्। नाताले थापाका ससुरा समेत पर्ने केसीले आफ्नो सामाजिक सञ्जालबाट यस्तो राय दिएका हुन् ।
केसीले अहिलेको परिस्थिति र विरासतमा आएका खराबीलाई आधार बनाएर राजीनामा दिनु गम्भीर राजनीतिक भूल हुने चेतावनी दिएका छन्। उनले आम कांग्रेस कार्यकर्ताको चाहना पार्टी सुधार गर्ने सारथीले बीचैमा बाटो छोड्नु नभएको स्पष्ट पारेका छन्। ‘पार्टी सभापतिलाई अहिले अल्मलिने छुट छैन, हतारमा निर्णय नगरी विगतका गल्तीबाट पाठ सिकेर अघि बढ्नु नै आजको प्रमुख आवश्यकता हो’ केसीको सुझाव छ ।
चर्चिल र भट्टराई पनि हारेका थिए
नेता केसीले विश्व र नेपालको राजनीतिक इतिहासका हेभिवेट नेताहरूको उदाहरण दिँदै हारलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘दोस्रो विश्वयुद्ध जिताएर पनि बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल सन् १९४५ मा हारेका थिए। खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस १९९२ मा पराजित भए। भारतमा इन्दिरा गान्धी जस्तो शक्तिशाली प्रधानमन्त्रीले पनि १९७७ मा हार बेहोर्नुपरेको थियो।’
नेपालकै सन्दर्भमा २०४७ को संविधान जारी गर्ने र निर्वाचन सम्पन्न गर्ने कृष्णप्रसाद भट्टराईले २०४८ को चुनाव हारेको स्मरण गराउँदै केसीले भनेका छन्, ‘लोकप्रिय र शक्तिशाली नेता हार्नु अस्वाभाविक होइन, तर हारेकै आधारमा मैदान छोड्नु कायरता हो।’
५० दिनमा जादु हुँदैन, ५० वर्षका विकृति सफा गर्न समय लाग्छ
सभापति थापाले नेतृत्व सम्हालेको ५० दिन मात्र भएको उल्लेख गर्दै केसीले दशकौँदेखि थुप्रिएका विकृति र विसङ्गतिहरू चुट्कीको भरमा समाप्त हुन नसक्ने तर्क गरेका छन्। ‘नेतृत्व पाएको ५० दिनमै बर्सौंदेखिका समस्या जादुगरी झैं अन्त्य हुन्थेनन्, यो स्वाभाविक हो,’ उनले भनेका छन्।फागुन २१ मा सम्पन्न निर्वाचनमा सभापति थापा स्वयं सर्लाही ४ बाट पराजित भएका थिए भने कांग्रेसले देशभरमा १८ सिट मात्रै जितेको छ । सो हारको जिम्मा लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मासँग राजीनामा दिने विषयमा सल्लाह गरेको विषय बाहिरिँदा केसीको सुझाव आएको हो ।



