बबिना गाैतम, काठमाडौं : नेपाली कांग्रेसकाे तेर्हथुम जिल्ला कार्यसमितिले यसअघि निर्वाचित सांसदकाे नाम सिफारिस नगरि महामन्त्री गगन थापाकाे एकल नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेकाे छ । राेचक त के छ भने, देशभरमै कांग्रेसबाट प्रत्यक्ष मा चुनाव जित्ने नेतृ सीता गुरूङ मात्रै हुन् ।
उनैकाे जिल्लाबाट काठमाडौं ४ मै चुनाव लड्छु भनिसकेका महामन्त्री थापाकाे नाम एकल सिफारिस भयाे । राेल्पा,धनकुटा, सर्लाहीबाट नाम सिफारिस हँदा थापासहित अरू नेताकाे नाम पनि सिफारिस भएकाे छ । तर, तेर्हथुममा भने साे क्षेत्रबाट सांसद जित्दै शहरी विकास मन्त्री बनेकी गुरूङकाे मात्र हाेइन, अरू कसैकाे नाम सिफारिस नगरि एकल नाम सिफारिस भयाे । याे विषयले तेर्हथुम कांग्रेसमा असन्तुष्टि देखिएकाे छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी गुरूङले पार्टी महामन्त्रीकाे सम्मानका लागि अरू नेतासहितकाे नाम अरू जिल्लामा जस्तै सिफारिस भएकाे भए स्वभाविक मान्न सकिएपनि एकल सिफारिसले थुप्रै प्रश्न उठाएकाे बताइन् । यसबारे हामीले साे क्षेत्रबाट निर्वाचित सांसद सिता गुरूङसँग कुरा गर्दा उनले महामन्त्री एउटा विकट जिल्लामा जान खाेजेकाे हाे भने राम्राे भएकाे बताइन् । तर, उनकाे प्रश्न छ,` गगन थापालाई महिलाले जितेकै क्षेत्रमा किन रुचि छ ? ०६४ मा सुप्रभा घिमिरेले जितेकाे काठमाडौं ४ मा लड्नुभयाे । अहिले अर्काे महिलाले जितेकाे क्षेत्रबाट एकल नाम सिफारि भएपछि त उहाँ तेर्हथुम जानैपर्याे ।´महिला र आदिवासी जनजाति साेझा भएकैले बेला बेला यसरी प्रहार हुने गरेकाे उनले बताइन् ।
गुरूङले महामन्त्री थापाले काठमाडौंकाे विकल्प खाेजिरहेकाे चर्चाकाबिच तेर्हथुम जान रहर गरेकै हाे भने आफूले काठमाडौं ४ सम्हाल्ने बताइन् । `काठमाडौं ४ मा मेराे पनि घर छ । म यता सम्हाल्छु । गगन जीलाई महिलाले जितेकाे क्षेत्र मन पर्दाे रहेछ,´ उनले भनिन् ।०७० सालमा कांग्रेसबाट चुनाव जितेका २३ महिला सांसदमध्ये काठमाडौं ४ र धादिङबाहेक २१ जनालाई निरन्तरता दिइएका थियाे ।
महामन्त्री थापाले भने आफू यसअघि निर्वाचित काठमाडौं ४ बाटै चुनाव लड्ने बताइसकेका छन् । काठमाडौं ४ बाट थापाकाे नाम एकल सिफारिस गरिएकाे क्षेत्रीय समितिले जनाएकाे छ ।
जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो।
संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नहुँदा चुनावमा उम्मेद्वार कसलाई बनाउने भन्ने छलफल भएको र त्यसक्रममा महामन्त्री थापाको नाम अगाडि आएको सभापति तुम्बाहांफेले बताए।
प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन्।
तेह्रथुमबाट समानुपातिकतर्फ सात जनाको नाम सिफारिस भएको छ।



