तीर्थ मिश्र ।नेपालको राजनीतिक इतिहास वि.पी. कोइरालाविनाको कल्पना गर्न सकिँदैन। उहाँले नेपाली समाजको गहिरो पीडा, दुःख, वञ्चना र आशालाई आत्मसात् गरेर जन्म दिनुभएको प्रजातान्त्रिक समाजवाद केवल एक राजनीतिक दर्शन मात्र होइन, देशको सामाजिक रूपान्तरणको मार्गचित्र थियो। उहाँले देखाउनुभएको बाटोले नेपाललाई आधुनिकताको दिशामा अगाडि बढायो। लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक न्यायलाई एउटै सूत्रमा गुठ्याएर उहाँले देशलाई नयाँ दृष्टिकोण दिनुभयो। तर इतिहास सधैं सजिलो हुँदैन। उहाँकै नाममा स्मृति र संघर्ष बोकेको कोइराला निवास भौतिक रूपमा खरानीमा परिणत हुनु केवल एउटा घरको विनाश मात्र होइन, समग्र नेपाली लोकतान्त्रिक चेतनामा चोट दिने घटना हो। तर सत्य के हो भने, भौतिक संरचना खरानी हुन सक्छ तर विचारलाई कसैले जलाउन सक्दैन। वि.पी. को विचार जनताको चेतनामा बाँचिरहेको छ, पुस्तापुस्ताले त्यसलाई आत्मसात् गरिरहेको छ र भविष्यले पनि त्यसलाई आवश्यकता अनुसार झन् प्रखर रूपमा माग गर्नेछ।

वि.पी. कोइरालाले जीवनभरि एक कुरा जोड दिनुभयो—लोकतन्त्र केवल सत्ता हात बदल्ने प्रक्रिया होइन, त्यो सामाजिक रूपान्तरणको साधन हो। उहाँले भन्नुभएको थियो कि राजनीतिक स्वतन्त्रता विना समाजले प्रगति गर्न सक्दैन, तर राजनीतिक स्वतन्त्रता मात्र पनि पर्याप्त हुँदैन। त्यसलाई सामाजिक न्याय र आर्थिक समानताले पूरक गर्नुपर्छ। यही विचार नै प्रजातान्त्रिक समाजवाद हो। यसले लोकतन्त्रलाई केवल औपचारिक संस्थामा सीमित राख्दैन, बरु त्यसलाई जीवनका आधारभूत आवश्यकता—शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा—सँग गाँस्छ। आज विश्वको जुनसुकै कुनामा गएर पनि प्रजातान्त्रिक समाजवादको मूल तत्व अझै प्रासंगिक रहन्छ। समाजमा असमानता, शोषण र विभेद विद्यमान रहेसम्म यस्तो विचार आवश्यक नै हुन्छ।

कोइराला निवासको खरानीलाई दुःखको रूपमा मात्र होइन, चेतनाको नयाँ स्रोतको रूपमा पनि लिन सकिन्छ। भौतिक संरचना नष्ट भए पनि विचार नष्ट भएको छैन। खरानीको ढिस्कामाथि पनि नयाँ बीज उम्रिन सक्छ, नयाँ वृक्ष पलाउन सक्छ। त्यस्तै, आज नेपाली कांग्रेस र समग्र लोकतान्त्रिक आन्दोलनमा देखिएका चुनौतीका बीचमा वि.पी. विचार पुनर्जागरणको बीज बन्न सक्छ। दलभित्रको गुटबन्दी, अवसरवाद, पद र सत्ता मोहले पार्टीलाई कमजोर बनाएको छ। यसै कारण कांग्रेसको विचारशील चरित्र धमिलिँदै गएको छ। तर यदि हामीले कोइराला निवासको खरानीलाई स्मरण गर्दै नयाँ प्रण गर्न सक्यौं भने, कांग्रेसलाई पुनः वैचारिक दलको रूपमा पुनर्निर्माण गर्न सकिन्छ।

वि.पी. को विचारलाई बुझ्दा हामीले उहाँको व्यक्तिगत जीवनको संघर्षलाई पनि स्मरण गर्नुपर्छ। उहाँले लामो समय जेल बस्नुभयो, निर्वासन भोग्नुभयो र स्वास्थ्यको कठोर संकट खेप्नुभयो। तर उहाँ कहिल्यै विचलित हुनुभयोेैन। उहाँले देखाउनुभएको आत्मबल नै आजको पुस्ताका लागि प्रेरणा हो। आगोले उहाँको घर खरानी बनाउन सक्छ, तर आगोले उहाँको आत्मबल, उहाँको प्रतिबद्धता र उहाँको विचार जलाउन सक्दैन। विचार भौतिक स्वरूप होइन, यो त चेतना र आदर्श हो जसलाई कुनै पनि शक्ति नष्ट गर्न सक्दैन।

आजको नेपालमा वि.पी. को विचार झनै अपरिहार्य भएको छ। लोकतन्त्रको अभ्यास कमजोर हुँदै गएको छ। दलहरूले निर्वाचन जित्न मात्रै ध्यान दिएका छन्, तर विचार र सिद्धान्तलाई बेवास्ता गरेका छन्। नागरिकले भोगिरहेको सामाजिक असमानता अझ गहिरिँदै गएको छ। स्वास्थ्य सेवा महँगो र असमान छ, शिक्षा व्यवसायीकरणको चपेटामा परेको छ, रोजगारको अवसर घट्दो क्रममा छ। यी सबै समस्याको उत्तर वि.पी. को प्रजातान्त्रिक समाजवादमा पाइन्छ। लोकतन्त्रलाई नागरिकको जीवनस्तर सुधारतर्फ केन्द्रित नगरी केवल सत्ता हस्तान्तरणमा सीमित राख्दा त्यो जनताको लागि निरर्थक बन्छ। यसैले प्रजातान्त्रिक समाजवादले लोकतन्त्रलाई सामाजिक रूपान्तरणसँग जोड्छ र साँचो लोकतन्त्रको अभ्यास गर्न प्रेरित गर्छ।

युवापुस्तामा निराशा बढ्दो छ। लाखौं युवाहरू वैदेशिक रोजगारीका लागि देश छाडिरहेका छन्। उनीहरूको सपनासँगै देशको श्रमशक्ति र भविष्यको सम्भावना पनि बाहिरिइरहेको छ। वि.पी. को विचारले युवाहरूलाई देशप्रतिको आस्था जगाउन सक्छ। यदि प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न सकियो भने, शिक्षा, रोजगारी र अवसरहरू देशभित्रै सिर्जना गर्न सकिन्छ। त्यसपछि मात्रै युवाहरूलाई राष्ट्र निर्माणमा संलग्न गराउन सकिन्छ।

कोइराला निवासको खरानीलाई नयाँ कांग्रेस निर्माणको प्रतीक बनाउनुपर्छ। कांग्रेस संस्थापक नेताहरूको परिकल्पना केवल सत्तामा पुग्ने साधन होइन, विचारमा आधारित दलको निर्माण गर्ने थियो। तर पछिल्ला दशकहरूमा कांग्रेस त्यस बाटोबाट च्युत भएको छ। विचारभन्दा स्वार्थलाई प्राथमिकता दिइयो। अब आवश्यक छ—वि.पी. को विचारलाई पुनः केन्द्रमा राखी दललाई पुनर्जीवित गर्ने। गुटबन्दी र स्वार्थको राजनीति समाप्त गरी राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई कांग्रेसको मूल कार्यनीति बनाउनुपर्छ।

यसैगरी, वि.पी. को विचारलाई केवल कांग्रेसभित्र सीमित राख्नु हुँदैन। यो विचार सम्पूर्ण नेपाली समाजको साझा सम्पत्ति हो। वि.पी. ले प्रतिपादन गर्नुभएको लोकतन्त्र र समाजवाद केवल कुनै दलको विचार मात्र होइन, यो राष्ट्र निर्माणको मार्ग हो। लोकतन्त्रको संस्थागत विकास, सुशासन, सामाजिक समावेशिता र न्यायपूर्ण समाजको निर्माण सबैका लागि साझा उद्देश्य हुनुपर्छ।

निष्कर्षमा भन्नुपर्दा, भौतिक संरचना नष्ट हुन्छ, तर विचार नष्ट हुँदैन। आगोले कोइराला निवास खरानी बनायो तर विचारलाई मेटाउन सकेन। बरु, त्यो खरानीले नयाँ चेतना जगाउने अवसर दिएको छ। वि.पी. को विचार मर्न सक्दैन, उहाँको प्रजातान्त्रिक समाजवाद पुस्तौँ पुस्तासम्म प्रेरणाको स्रोत बन्छ। यसैले भन्नुपर्छ—वि.पी. विचारलाई आगोले जलाउन सक्दैन। बरु, यही विचारबाट नूतन कांग्रेसको निर्माण हुनेछ, नयाँ पुस्तामा आशा र प्रतिबद्धता जगाउनेछ, र नेपालको लोकतान्त्रिक भविष्य अझ सबल बन्नेछ।

( मिश्र नेपाली कांग्रेेेसका युवा नेेता हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर