काठमाडौं । गायक तथा गीतकार पदम दुलालको नयाँ गीत ‘ए मेरो बाबा, ए मेरी आमा’ युट्युबमार्फत सार्वजनिक भएको छ।
बाबु–आमाप्रतिको माया, सम्झना र कृतज्ञताको भाव बोकेको यस गीतले सबै उमेर समूहका श्रोता–दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ।

गीतमा स्वर र शब्द स्वयम् पदम दुलालले दिएका छन् भने, संगीतमा बिनोद ढकाल र एरेन्जमा कृष्ण लमिछानेको योगदान रहेको छ। गीतलाई हृदयस्पर्शी बनाउने उद्देश्यले विशेष ध्यानसहित संगीत संयोजन गरिएको छ।

यसअघि पनि पदम दुलालले समाज र जीवनसँग जोडिएका विभिन्न चर्चित गीतहरू बजारमा ल्याइसकेका छन्। विशेषगरी ‘मेलम्ची को दाइ ’ भन्ने लोकप्रिय गीतमार्फत उनले गाउँ–घर र सहरका श्रोताको मन जितिसकेका थिए। दुलालका गीतहरूमा पारिवारिक माया, संस्कार, जीवनयात्रा र सामाजिक सन्देश झल्किने गरेको पाइन्छ।

‘ए मेरो बाबा, ए मेरी आमा’ गीतलाई लिएर गायक दुलालले भने, “यो गीत मैले आफ्ना मात्र नभई सबै आमाबुबा सम्झँदै गाएको हुँ। हाम्रा जीवनका असली नायक नै आमाबुबा हुनुहुन्छ, जसलाई हामीले जीवनभर सम्मान र सम्झनु पर्छ भन्ने सन्देश दिन खोजेको छु।”

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि दर्शक–श्रोताले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्।
यो गीत गायक पदम दुलालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर