काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनका लागि मंगलबार भारत प्रस्थान गरेका छन् । उनीसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापति, छायांकार मनु बिके र मुख्य सहायक निर्देशक सयनम अधिकारी पनि सहभागी भएका छन् ।

भदौ ६ गते (अगस्ट २२) शुक्रबारबाट भारतको चर्चित स्थल ‘डुअर्स’मा पहिलो चरणको छायांकन सुरु हुनेछ । सोही तालिकाअनुसार बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा समेत छायांकन हुनेछ । दोस्रो चरण मुम्बई, नासिक र झारखण्डमा हुने भने तेस्रो चरण नेपालमै खिचिनेछ । करिब ६० दिनभित्र सम्पूर्ण छायांकन सक्ने लक्ष्य राखिएको छ ।

फिल्ममा निखिल उप्रेती प्रमुख भूमिकामा देखिनेछन् भने अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र विशाल पहारी रहेका छन् । साथै बलिउड र दक्षिण भारतीय फिल्मका केही कलाकारसमेत फिल्ममा देखिने निखिलले बताएका छन् ।

‘आचार्य’लाई उनले विश्वस्तरीय एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने दाबी गरेका छन् । सोही फिल्ममार्फत सञ्चिता लुइँटेलले कोरियोग्राफरका रूपमा डेब्यू गर्ने भएकी छन् । नेपाली र हिन्दी भर्सनमा तयार हुने एक गीतमा उनले कोरियोग्राफी गर्नेछिन् ।

यसअघि २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’बाट निर्देशन यात्रा थालेका निखिलको निर्देशनमा बन्ने यो दोस्रो फिल्म हुनेछ । उनी नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर