काठमाडौं : प्रतिनिधिसभामा सहमति नजुट्दा मंगलबार संसद बैठक बस्न सकेन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार दुई पटकसम्म सारिएको बैठक अन्ततः बस्दै नबसी भोलि ९बुधबार० दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो। गृहमन्त्रीलाई बोल्न दिने गरि सहमति भएको बताइएपनि अन्तिममा सहमति टिकेन ।
मंगलबार बिहान ११ बजेका लागि निर्धारित बैठक सुरुमा दिउँसो २ बजे बस्ने गरी सारिएको थियो। तर, उक्त समयमा पनि दलहरूबीच सहमति कायम हुन नसक्दा बैठक सञ्चालन हुन सकेन।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एकीकृत समाजवादीलगायतका विपक्षी दलहरूले ‘भिजिट भिसा प्रकरण’ मा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै उनको राजीनामालाई प्रमुख माग बनाएर सदन अवरोध जारी राखेका छन्।
सदन सञ्चालन हुन नसक्ने स्थिति उत्पन्न भएपछि संसद् सचिवालयले सूचना टाँस गरेेकाे हाे ।



