काठमाडौं : संसदका महासचिव पदम पाण्डेले आफुुले तस्विर खिच्दा मुख छाेपेकाे विषयमा प्रष्टिकरण दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्-
संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमति बिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ। मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लङ्घन गर्नेहरुलाई संवैधानिक तथा कानूनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।
के थियो घटना ?
बिहिबार महासचिव पाण्डेसहितको टोलीले निजामति सेवा विधेयकमा राखिएको कुलिङ पिरियड राख्न नहुने माग गर्दै सभामुख र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेट्यो
। बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा पुगेर महासचिव सहितका सचिवहरूले अध्यक्ष दाहालसँग निजामति विधेयबाट कुलिङ पिरियड हटाउन आग्रह गरेका हुन्। सभामुखलाई भेटेर निस्कने क्रममा पत्रकारले तस्बिर खिच्दा पाण्डेले मुख छोपेका थिए ।



