काठमाडौँ । रोहन कार्कीलाई फ्रेन्चाइज टोली काठमाडौं रेन्जर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ।
एनएसएलको दोस्रो संस्करणमा उदीयमान खेलाडीको अवार्ड जितेका मिडफिल्डर रोहनलाई शुक्रबार काठमाडौंले सामाजिक सञ्जालमार्फत मार्कीका रुपमा सार्वजनिक गरेको हो।
योसँगै काठमाडौंले लगातार तेस्रो संस्करण मार्की खेलाडी परिवर्तन गरेको हो। यसअघि काठमाडौंले पहिलो संस्करण गोलकिपर विकेश कुथु, दोस्रो संस्करणमा स्ट्राइकर हिसुब थपलियालाई मार्की खेलाडी बनाएको थियो।
रोहनले गत संस्करण धनगढी एफसीको प्रनिनिधित्व गरेका थिए। पहिलो एनएसएल अनुभवमै रोहनले सम्झनालायक प्रदर्शन गर्दै धनगढीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
गत जेठमा सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रोहनले सुर्खेतको आरसी ३२ क्लबबाट खेलेका थिए। आफ्नो नेतृत्वमा आरसी ३२ लाई ‘बी’ डिभिजन बढुवा गरेका रोहन लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। झापाका स्थानीय रोहनले झापा एफसीबाट आफ्नो व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए। पछिल्लो समय उनी शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिताहरु खेल्दै आएका छन्।
काठमाडौंले बिहीबार मात्र रक्षक कुलदीप कार्की, मिडफिल्डर दीपेश गुरुङ र गोलकिपर अभिषेक बराललाई रिटेन गरेको थियो। पहिलो संस्करणको च्याम्पियन काठमाडौंले दीपेशलाई ‘ए’ क्याटोगोरी तथा कुलदीप र अभिषेकलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरेको हो।
एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ।



