बागमती। सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ।
आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेको हो।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे। बिएफसीका अमन लामाको प्रहार मात्रै गोल भए।
बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएका थिए । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।
खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि एपीएफले निर्धारित खेल समय आफ्नो पक्षमा पारेको थियो । एपीएफ गत संस्करणको उपविजेतासमेत हो।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।



