‘रंगी’ लिएर दर्शकमाझ आउनु भनेको मेरो करियरको खुड्किलो पनि हो । निर्माण क्षेत्रमा मेरो पहिलो प्रयास हो । धेरै मेहेनत गरेको छु, मन छुने सिनेमा बनाएको छु। धेरै वर्षमा सिकेको कुरालाई यहाँ लगानी गरेको छु।
सलोन बस्नेत
अभिनेता एवम निर्माता
फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो। अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकरात्मक प्रतिक्रिया पनि आइरहेको छ। सकेसम्म धेरै भन्दा धेरै अडियन्सहरुकोे नजिक पुग्ने कोशिस गरिरहेको छु।
हाम्रो परिवारमा ड्याडी फिल्म मेकर नै हुनुहुन्छ। उहाँबाटै धेरै कुरा सिक्ने मौकापनि पाएँ । अलिअलि अभ्यास त पहिल्यैदेखि नै गरिरहेको थिएँ। यसैक्रममा मेरो घरमा छोरीको जन्म भएपछि केही फरक तरिकाले काम गर्न सुरु गरेको हुँ। निर्माण क्षेत्रमा पनि भूमिका देखाउन थालेको हुँ। अभिनयले मात्र नहुने रहेछ फरक तरिकाले अगाडि बढ्ने सोचले अघि बढिरहेको हुँ।
अभिनय गरिरहेको मान्छे मेरो अगाडि भविष्य भनेको कि निर्देशक कि निर्माता बन्ने भन्ने नै थियो । मलाई निर्देशनमा चाँही त्यति धेरै आँट छैन्। अहिले नै सक्षम भइसकेको छु जस्तो लाग्दैन्। निर्माताका रुपमा चाहीं सुरु गरौं न भनेर अघि बढेको हुँ । घरमा छोरीको आगमन भएसँगै आफूलाई इच्छा लागेको भनेको बाबा–छोरीकै कथाबस्तुमा फिल्म बनाउने इच्छा अनुसार ‘रंगी’ काम अघि बढेको हो।
यस्तो कथाबस्तुमा फिल्म बनाउन हिम्मत मात्र नभइ अनुभूति गरेरै अघि बढेको हुँ। सँधै अरु प्रोडक्सन हाउसको सिनेमा खेलेर मात्र पनि हुँदैन्, आफ्नो पनि हुनुपर्छ भनेर भविष्यलाई सम्झेर नै सुरु गरेको हुँ।
सोही अनुसार रंगीमा बाबा छोरीको स्टोरी समेट्ने प्रयास गरिएको छ। त्योसँगसँगै काठमाडौंको लोकल स्टोरी पनि हो। यसमा एउटा समाजलाई चित्रण गर्ने कोशिस गरेका छौं । समाजमा देखिने हरेक किसिमका व्यक्तिहरुलाई रंगीमा समावेश गरेको छु । रंगी चाँही मायाको कथा पनि भएकाले भ्यालेन्टाइनस डे को दिनलाई रिलिज गर्ने सोच बनाएका हौं। तर मायाका धेरै रुपहरु मध्ये नेपाली फिल्ममा नदेखाइएको छुट्टै मायाको कथा यसमा छ । दर्शकहरुले रुचाइदिनुहुन्छ जस्तो लाग्छ ।
फिल्ममा धेरै कुराहरु सरप्राइजकै रुपमा आउने छ। ति सबै कुराहरु यहाँ नभनौं, हलमै पुगेपछि सबै थाहा भइहाल्छ। छोरी सान्बिका नै यो फिल्ममा देखिने होइन उनी सानै पनि छिन्। तर अरु दुईचार वटा आहा ! भन्ने किसिमका फ्याक्टरहरु चाहीं समेटिएको छ । धेरै जनाले मेरो श्रीमती पनि फिल्ममा देखिनुहुन्छ कि भनेर सोधिरहनु भएको छ तर यसलाई मैंले गोप्य नै राखेको छु। त्यसबारेमा पनि हलमै गएर हेर्नुहोला भन्न चाहन्छु।
यतिबेला म निर्माताका रुपमा धेरै चुनौतिहरुको सामना गरिरहेको छु। कलाकार हुँदा अभिनय कस्तो भयो होला भन्ने मात्र हुन्थ्यो तर निर्माता बनेपछि अलग्गै जिम्मेवारी हुने रहेछ । पूरै टिमलाई पनि मैले बोकेर हिड्नपर्छ । सबैको बारेमा सोच्नुपर्छ । कसैको चित्त नदुखोस् कसैलाई नराम्रो नलागोस् भनेर काम गर्नुपर्ने रहेछ । साथै रिलिजको बेलामा पनि अलि धेरै प्रेसर हुँदो रहेछ। पुरै टिमलाई म्यानेज गरेर हिड्न कठिन भइरहेको छ । पोस्ट प्रोडक्सन एकतिर चलिराखेको छ भने प्रमोसन अर्कातिर चलिराखेको छ। सबैतिर ध्यान दिइराख्नुपरेको छ । ठूलो लगानी परेको छ, उठ्ने हो कि होइन भन्ने चिन्ता पनि थपिएको छ।
अहिले हाम्रो ट्रेलर कन्टेन्ट दर्शकले मन पराउनु भएको छ। त्यो हेर्दा सायद सिनेमा रुचाइदिनुहुन्छ होला जस्तो लागिरहेको छ । एकदमै सकरात्मक छु । सामाजिक सञ्जालमा जसरी प्रतिक्रियाहरु दिनुभएको छ, प्रमोसनमा जाँदा पनि राम्रो प्रतिक्रिया पाइरहेको छु। नेपाली फिल्ममा काम गर्न थालेको २६ वर्ष भयो। फिल्म बाहेक अरु केही केहीमा पनि काम गरेको छैन् । त्यसकारण पनि सबैले मन पराइदिनुहुन्छ होला ।
जतिपनि सिनेमामा मैंले लिड भूमिकामा खेंले तर व्यवसायिक रुपमा सफल भएनन्। त्यसले गर्दा म एउटा मेकर धेरै कुरामा लगानी गरेको छु। म बच्चा नै पनि भएकाले धेरै कुरालाई ध्यान नदिएको हुनसक्छ । मैंले पनि भूमिका छान्दा ध्यान दिनुपर्छ । रंगीमा चाँही फुड डेलीभरीको भूमिकामा देखिएको छु।
फिल्ममा भर्खरै रिलिज भएको ‘तिमीले रेट्यौ मनको तार’ गीत एकदमै चलिरहेको छ। ५० हजारमाथि टिकटक बनिसकेका छन्। यही गीतले गर्दा पनि भ्यालेन्टाइ डे हामीले रोजेका हौं । प्रेम गीत अर्थात भ्यालेन्टाइनस् भन्ने वित्तिकै मायाको उत्सव जस्तो दिन भएकाले रिलिज मिति तोकेका हौं । भ्यालेन्टाइन डे रंगीका लागि उपयुक्त समय हो जस्तो लागेको छ।
अहिले नेपाली सिनेमाले जसरी व्यापार गरिरहेको छ, त्यो देख्दा मलाई उत्साह पनि थपिएको छ। किनभने भर्खरै ‘छक्का पंजा’, ‘१२ गाँउ’, ‘ज्वाँइसाब’ एकै दिन आउँदा तीन वटाले नै एकदमै राम्रो व्यापार गरेका छन्। त्यसैले रंगीलाई पनि बजारमा त्यस्तो धेरै समस्या पर्छ जस्तो लाग्दैँन् । पछिल्लो समय नेपाली फिल्मले एकदमै राम्रो काम गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास रचेको छ । राम्रो कामलाई दर्शकले रुचाइ दिनुहुन्छ।
हलमा सिनेमा चलाउने कुरा सामान्य पनि होइन् । हलका फिल्म लगाउने विषयमा राजनीतिकीकरण हुन्छ भन्ने त लाग्दैन् । म नयाँ निर्माता भएकाले पनि धेरै अनुभव गर्न पाएको छैन्। त्यसकारण मैले बुझिसकेको भने छैन्। हल संचालकहरुले राम्रो साथ दिइरहनुभएको छ । तर सिनेमा प्रदर्शन गर्न एकदमै चुनौतीपूर्ण काम रहेछ एकदमै गा¥हो काम रहेछ । एउटा सानोतिनो लडाई नै रहेछ, म लड्दै छु।
रंगी आफैंले देखेको भोगेको बुबाबाट प्रोत्साहित भएर बनाएको कथा हो । नेपाली समाजमा कस्तो छ भने बाबा भनेपछि एउटा बलियो मान्छे, उसलाई केही पनि हुदैँन् भन्ने खालको बन्नैपर्ने उदाहरण छ। बुबाभित्रको पीडा, संघर्ष र सबैको अगाडि बलियो बन्दा आफूभित्र के महशुस भइरहेको हुन्छ होला भन्ने यसले देखाउँछ । किनभने बुबाको दुखाई त भित्र हुन्छ नी।
यसको साथै छोरीहरुको सम्बन्ध बाबाहरुसँग कस्तो हुन्छ, बाबा र छोरीको सम्बन्ध कस्तो हुन्छ यो कुरालाई पनि देखाउन खोजेका छौं । मेरो आफ्नै पनि छोरी छ त्यसपछि झन मैंले कतिवटा कुराहरु महशुस गरे त्यहाँबाट सुरु भएको हो रंगी । मैले विशेष रुपमा बाबा र छोरीको सम्बन्ध देखाउन खोजेको हुँ।
काठमाडौं उपत्यका भित्रै छायांकन भएकाले छोरी पनि साथै हुन्थिन । छोरीको भूमिका खेल्नुभएको आयुषिले धेरै राम्रो भूमिका निर्वाह गर्नुभएको छ। सुटिङ्भरको समयमा आयुषि छोरी जस्तै लाग्छ। मैले भन्न पनि छोरी नै भन्छु, त्यो एउटा सम्बन्ध पनि बन्यो । मेरो आफ्नो छोरी पनि ठूलो भएर यस्तै हुन्छ होला जस्तो लाग्छ । आयुषि मनको लागि एउटा नयाँ परिवार थपिएको जस्तो पनि लाग्यो।
यो फिल्म नेपालमा रिलिज भएपछि मिडिल इस्टभरी अर्थात युएइ, कतार, ओमान, कुबेत, मलेसिया, जापान, युरोपको माल्टा र अष्ट्रेलियामा फिल्म रिलिज हुने लगभग तय भइसकेको छ।
यतिबेला भ्यालेल्टाइन डेको मौसम भएकाले यसको पनि राम्रो र नराम्रो दुवै पक्षहरु छन् । तर अब विस्तारै सुधार हुदैँ जाने प्रयास गर्नपर्छ । एकदमै नराम्रो मात्र हुन्छ भनेर पनि भन्दिन् किनभने म आफैले भ्यालेन्टाइन डे मनाइरहेको छु। यस दिनले माया अझ धेरै गाढा हुने र धेरै गहिरो बन्नसक्छ।
रंगी लिएर दर्शकमाझ आउनु भनेको मेरो करियरको खुड्किलो पनि हो। मेरो पहिलो प्रयास हो । एकदमै राम्रो प्रयास गरेको छु । मन छुने सिनेमा बनाएको छु । मैले यति धेरै वर्षमा सिकेको कुरालाई यहाँ लगानी गरेको छु। सबैले सहयोग गरिदिनुहोला।



