काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ। तराई भागका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



