काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन्।

राष्ट्रिय शहीद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान शहीदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन्।

उनले शहीदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे।

उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शुङ्खला अन्त्य भएको पनि बताए।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाए।

उनले भने, ‘हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन। यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो। यदि व्यवस्थामा वा शासकहरुमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैछ। देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ। हामी शहीदले देखाएको मार्गमा सँधै अविचलित रहनेछौँ।’

सोही कार्यक्रममा गृहमन्त्री रमेश लेखकले शहीदहरुको सपना पूरा गर्नु सबैको कर्तव्य भएको भन्दै शहीदहरुले देखाएको बाटोमा अगाडि बढ्दै सुशासन, समृद्धि र स्थायित्वको मार्गलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताए।

उनले भने, ‘वीर शहीदहरु प्रति उच्च सम्मान प्रकट गर्दै भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। देशको राजनीतिक सामाजिक तथा आर्थिक रुपान्तरणमा शहीदहरुको योगदान अमूल्य छ। लोकतान्त्रिक अधिकार प्राप्त गर्ने यात्रामा हामीले धेरै कठिन मोडहरु प्राप्त गरेका छौ। निरङ्कुश शासन व्यवस्थाको अन्त्य गर्छै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आईपुग्दा धेरै शहीदहरुले आफ्नो बलिदान दिनु भएको छ। उहाँहरुको सपना पूरा गर्नु हाम्रो कर्तव्य तसर्थ उहाँहरुले देखाएको बाटोमा अगाडि बढ्दै सुशासन, समृद्धि र स्थायित्वको मार्गलाई सुधार गर्दै जानु हामी सबैको कर्तव्य हो।’

कार्यक्रममा प्रतिनिधिसभाका उप्रधानमन्त्रीहरु, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरु र विशष्ट व्यत्तिहरुको उपस्थिति थियो।

यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद स्मारक र शहीदगेटमा पुगेर शहीदप्रति सम्मान प्रकट गर्नुभएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको