रौतहट । रौतहटका अधिकांश पालिकाले चिसोबाट बच्नका लागि न्यानो कपडा र दाउरा वितरण गरिरहेको छ।
केहि दिनदेखि बाक्लो हुस्सु तथा शीतलहरका कारण यहाँको जनजिवन प्रभाबित भएको बेला पालिकाले विपन्न परिवारलाई न्यानो बनाउन सहयोग गर्दै आएको हो।
चिसोबाट पालिकावासीलाई जोगाउन न्यानो सिरक र दाउरा वितरण गरिरहेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताए।
चिसोबाट बढी बालबालिका , वृद्धवृद्धा , सुत्केरी र रोगि प्रभाबित हुने भएकाले गाउँगाउँमा पुगेर सिरक र दाउरा वितरण कार्य गरिरहेको उनले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म पालिकाभित्रका सबै वडामा गरी १५ सय भन्दा बढी न्यानो कपडा वितरण गरिसकेको छ।
यो अभियान अझैं बाँकी रहेकाले विपन्न परिवारको पहिचान गरि सिरक वितरण गर्दै लैजाने नगर प्रमुख जयसवालले बताए । यसअघि चिसोबाट बच्नका लागि गरुडा र शिबनगर चोकमा दाउरा वितरण गरिएको उनले उल्लेख गरेका छन्।
गरुडा नगरपालिकाको हालसम्म वडा नं ८ जिङ्गडिया, वडा नं ९ रघुनाथपुर, वडा नं ७ भिमडावर, र वडा नं ४ गरुडाका चिसो प्रभावित क्षेत्रहरूमा आगो ताप्नका लागि दाउरा पठाईएको उनको भनाइ छ।
चिसोबाट बच्नका लागि यहाँको चन्द्रपुर , गौर, र यमुनामाइ लगायतका पालिकाले दाउरा वितरण कार्य गर्दै आएका छन् । रौतहट सहित तराई मधेशमा केहि दिनदेखि चलेको हुस्सुका र शीतलहरका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बनेको छ।



