काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा साउदी प्रो लिग अन्तर्गत १६औं साताको खेलमा अल नासरले विजयी हासिल गारेको छ।
प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा मंगलवार राती भएको खेलमा नासरले अल खलीजलाई ३-१ ले पराजित गरेको हो।
नासरको जितमा कप्तान रोनाल्डो दुई गोल गर्दा सुल्तान अल घन्नामले एक गोल गरे। खलीजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे।
खेलको ३४औं मिनेटमा खलीजका सईद अल हम्साल रातो कार्ड खादै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो। रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ८०औं मिनेटमा फोर्टुनिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बराबरीमा पुर्याए । नासरका लागि ८१औं मिनेटमा सुल्तानले गोल गर्दै खेलमा फेरी अग्रता बनाए। दोस्रो हाफको इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै रोनाल्डोले नासरलाई सहज जित दिलाए।
जितसँगै नासर १६ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ। समान खेल खेलेको अल हिलाल ४३ अंकका साथ शीर्ष स्थानमा छ।





