काठमाडौं । रौतहट प्रहरीले बुहारीको हत्या गरी फरार भएकी सासुलाई चारबर्ष पछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यलय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीय सायरा खातुनलाई पक्राउ गरेको हो। चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका–२ समनपुरबाट पक्राउ गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए।
उनका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो.इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन्। घटनापश्चात् उनी फरार भएकाले प्रहरीले खोजी गरिराखेको उनले उल्लेख गरेका छन्।
अन्ततःखातुनलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए। पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेको उनले बताए। अदालतबाट जारी भएको पक्राउ पुर्जी दिएर खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । प्रहरीका अनुसार रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।




